२०८० मंसिर १६, शनिबार
नवलपुर । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) नवलपुरको विनयी त्रिवेणी गाउँपालिका ६ मा पर्ने पवित्र तीर्थस्थल त्रिवेणीमा माघे औँसी स्नान गर्न भक्तजनहरू आउने क्रम सुरु भएको छ ।
यस वर्षको औँसी भोलि परेको छ । प्रत्येक वर्ष माघे औँसीमा यहाँ स्नानका लागि नेपाल र भारतबाट भक्तजनहरू आउने गर्दछन् । औँसीमा यहाँ मेला समेत लाग्ने गर्दछ । मेला हिजोबाट नै सुरु भएको छ । तीन दिनसम्म मेला लाग्नेछ । गएको दुई वर्ष कोभिडका कारण मेला लागेको थिएन । यस वर्ष मेलाको आयोजना गरिएको छ । मेलामा फूलप्रसाद देखि मरमसला ,स्थानीय उत्पादन र दैनिक उपभोग्य सामाग्री राखिएका छन् भने, डुङ्गा सयरको समेत व्यवस्था गरिएको छ ।
सोन भद्र, पूर्ण भद्र र नारायणी नदीको संगम स्थल त्रिवेणीमा माघे औँसीको दिन पूजाअर्चना र स्नान गर्दा पुण्य प्राप्त हुने, विभिन्न प्रकारको रोगहरू निको हुने र पाप नास हुने, मनमा चिताएको कुराहरू पूरा जनविश्वास रहिआएको छ । यहाँ परापूर्वकालदेखि नै स्नान र पूजाअर्चनाका लागि भक्तजनहरू आउने गरेको वडा नं. ६ का अध्यक्ष नुरेन्द्र शाहले बताउनुभयो । यहाँ स्नानका लागि आउने भक्तजनहरू ८० प्रतिशत भारतको यूपी र बिहारबाट आउने गरेको शाहले जानकारी दिनुभयो । यस वर्ष करिब १५ हजार भक्तजनहरू पूजाअर्चना र स्नानका लागि आउने अनुमान गरिएको उहाँले बताउनुभयो ।
औँसीमा आउने भक्तजनहरूको सुरक्षालाई ख्याल राख्दै सशस्त्र प्रहरीको विपद् व्यवस्थापन टोली तयारी अवस्थामा राखिएको र अन्य सुरक्षा व्यवस्था पनि मजबुत पारिएको अध्यक्ष शाहले बताउनुभयो । नेपाल प्रहरी,सशस्त्र प्रहरी, ट्राफिक प्रहरी र नेपाली सेना समेत गरेर करिब एक सय जना सुरक्षाकर्मी परिचालन गरिएको उहाँले बताउनुभयो । ट्राफिक व्यवस्थापन गर्न वडा नं. ७ को रानीनगरमा र ६ विद्यालयको चउरमा व्यवस्थापन गरिएको छ । नुहाउने घाटलाई व्यवस्थित गरिएको छ । यहाँ आएका भक्तजनहरू डुङ्गा चढेर नारायणी नदी पार गरी वाल्मीकि आश्रम समेत जान्छन् । यहाँ आएका तीर्थालुहरूले नजिकै रहेको गजेन्द्र मोक्षधाम, लक्ष्मीनारायण मन्दिरको दर्शन र शीश महल अवलोकन समेत गर्छन् ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |