मुख्यमन्त्री समेत रहेका एमाले संसदीय दलका नेता खगराज अधिकारीले विश्वासको मत लिने अघिल्लो दिन गाहालाई प्रमुख सचेतक चयन गरेका हुन्
गाहा गण्डकी प्रदेशमा एमालेबाट लगातार दोस्रो पटक जितेर आउने एकमात्र सांसद हुन् । संविधान सभा सदस्यसमेत रहेका गाहालाई २०७४ सालमा पृथ्वीसुब्बा गुरुङ नेतृत्वकै सरकारमा मन्त्री बनाउने तयारी थियो ।
मुख्यमन्त्रीका दाबेदार किरण गुरुङले सरकारमा नजाने अडान लिँदा गाहालाई अर्थमन्त्री बनाउने तयारी थियो । तर, किरण नै अर्थमन्त्री भएपछि गाहा वञ्चित भएका थिए । एमालेबाट दोस्रो पटक जितेर आउने अनुभवी सांसदसमेत भएकाले यसपटक गाहामगर पहिलो चरणमै मन्त्री हुने धेरैको अनुमान थियो ।
मुख्यमन्त्री खगराजले ३ पार्टीका ३ जनालाई मन्त्री बनाउँदा गाहा सरकारमा सहभागी भएनन् । एमालेबाट सीता सुन्दास, नेकपा माओवादी संसदीय दलका नेता हरिबहादुर चुमान र राप्रपा संसदीय दलका नेता पञ्चराम तमु बिना विभागीय मन्त्री बनेका छन् ।
गाहालाई अधिकारीले किन मन्त्री बनाएनन्, चर्चा र चासोको विषय बनिरहेको छ ।
गाहाले भने २९ गते मुख्यमन्त्रीले विश्वासको मत लिने भएकाले सोही प्रयोजनका लागि मात्र आफूलाई प्रमुख सचेतक बनाइएको बताए । ‘विश्वासको मत लिन एमाले संसदीय दलमा ह्पि जारी गर्न काम चलाउका लागि मात्र प्रमुख सचेतक बनाइएको हो’, गाहाले भने, ‘पार्टी, संसदीय दल हाम्रै त हुन्, यो बचाएर लगेमात्रै पो मन्त्री बन्ने हो । २÷४ दिनमै थाहा भइहाल्छ ।’
नवलपुर–१ (२) बाट निर्वाचित गाहा पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकार ढलेपछि प्रदेशसभाको सार्वजनिक लेखा समिति सभापति बनेका थिए ।
अधिकारीले विश्वासको मत लिएर मात्र मन्त्रिपरिषद बिस्तार गर्ने तयारी गरेका छन् । विश्वासको मत र मन्त्रिपरिषद बिस्तारबारे छलफल गर्न अधिकारी मंगलबार बेलुका एमाले अध्यक्ष केपी शर्मा ओली र बुधबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छलफल गरेर फर्किएका छन् ।
अधिकारीले केन्द्रमा प्रचण्डलाई विश्वासको मत दिएको कांग्रेसलाई पनि आफूलाई सहयोग गर्न अपिल गरेको बताए । अधिकारीले एमालेका २२, माओवादीका ८, राप्रपाका २ र स्वतन्त्र एक गरी ६० सदस्यीय प्रदेश सभामा ३३ जनाको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए । गण्डकीमा सबैभन्दा ठूलो दल नेपाली कांग्रेसका २७ सांसद छन् । अनलाइनखबर