२०८० मंसिर २४, आईतबार
कावासोती । ठूलो आवाज निकाल्ने मोटरसाइकलका कारण प्रभावित बनेको सर्वसाधारणले गुनासो गरेका छन् ।
मोटरसाइकलबाट निस्कने ठूलो आवाजले सबैभन्दा बढी बालबालिका प्रभावित बनेका छन् । कावासोती दुईकी सरिता आचार्यको साढे ६ वर्षकी छोरी र अढाइ वर्षका छोरा छन् । उनीहरु एकोहोरो भएर घरभित्र खेलिरहेका बेला वा पढिरहेका बेलामा एक्कासि ठूलो आवजमा मोटरसाइकलबाट निस्केको आवजले तर्सिने गरेको उहाँ बताउनुहुन्छ । ‘बाटो नजिकै घर छ । कहिलेकाँही केटाकेटीहरू बाहिर निस्केर खेलेका हुन्छन् । बाटो र घरै थर्कने गरेर मोटरसाइकल कुदाउँछन् । केटाकेटीहरू तर्सेर रुदै घरभित्र पस्छन् । ’ आचार्यले भन्नुभयो – ‘अचाक्ली नै भएको छ । यस्तो मोटरसाइकल त चल्नै नदिए हुन्थ्यो । ’
कावासोतीकै ढाकाराम न्यौपानेको पनि दुई नातिनीहरू छन । घरको दोश्रो तलमा उहाँ बस्नुहुन्छ । तर , तल बाटोमा हिँडेको मोटरसाइकलको आवजले नातिहरू तर्सेर डराउने रुने गरेको उहाँ बताउनुहुन्छ । नातिनीहरू मात्र नभई आफूहरू समेत तर्सने गरेको उहाँले बताउनुभयो । ‘दिउसो मात्रै भए त हुन्थ्यो , रातिको एघार बाह्र बजे पनि हिँड्छन् । मस्त निद्रामा भएको समयमा मुटु नै फुट्ने जस्तो गरेर आवाज निकाल्छन् । एकातिर सुतेका केटाकेटी पनि तर्सेर अतालिन्छौँ , हामी ठूलै मान्छे पनि तर्सन्छौँ ।’ न्यौपानेले थप्नुभयो – ‘यस्ता मोटरसाइकलले ध्वनि प्रदुषण मात्रै गरेका छैनन् । मुटुरोगी , ठूलो आवाज सुन्न नहुने व्यक्तिहरूको स्वास्थ्य समस्यामा समेत असर पारेका छन् । त्यसैले ठूलो आवाज निकाल्ने मोटरसाइकललाई चल्नै दिन हुन्न । ’
मोटरसाइकलबाट निस्कने ठूलो आवाजले बालबालिका र अशक्त बिरामी मात्रै होइन सामान्य मानिसलाई पनि असर गरेको स्थानीय युवा चिरञ्जीवी पौडेलको गुनासो छ । ‘ठूलो आवाज निकालेर वरपर सबै थर्कने गरी सडक नै आफ्नो मात्र हो भन्दै हिँड्छन् । हामी सामान्य मानिस पनि यसका कारण प्रभावित छौँ । बाटोमा आफ्नै सुरुमा बाइकमा हिँड्दा ठूलो आवाज निकालेर आएका सवारीका कारण दुर्घटनाको जोखिम समेत हुने गरेको छ । ’ पौडेलले भन्नुभयो – ‘ठूलो आवाज निकाल्ने सवारीसाधन चलाउँदा ध्वनि प्रदूषण हुनाका साथै मानवीय स्वास्थ्यमा समेत नकारात्मक असर परिरहेको छ । सम्बन्धित निकायले यसतर्फ ध्यान दिन जरुरी छ । ’।
जिल्ला ट्राफिक कार्यालयका पदम बडुले ध्वनि प्रदूषण हुने गरी कोलाहल मच्चाउनु, स्वरुप परिवर्तन गरी चलाउनु, लापरवाही ढंगले चलाउनु कानून विपरीत रहेको बताउनुहुन्छ । ठूलो आवाज निकाल्ने कतिपय साधनलाई नियन्त्रणमा लिएको उहाँले बताउनुभयो । ठूलो आवाज निकालेर मोटरसाइकल चलाइरहेको देख्दा बित्तिकै आफूहरूले समाउन नमिल्ने उहाँ बताउनुहुन्छ । ‘हामिले बाटोमा ठूलो आवाज निकालेर सवारी चलाएको देख्छौँ तर , त्यति नै बेला समाउन पछिपछि भाग्यौ भने कुनै अप्रिय घटना हुन सक्छ । त्यसैले हामीकहाँ मौखिक वा लिखित रुपमा त्यस्ता सवारी नम्बर सहित उजुरी गर्नुभयो भने हामिलाई समाउन सहज हुन्छ । ’ बडुले भन्नुभयो । त्यस्ता सवारीको बिरुद्धमा ट्राफिक कार्यालयमा खासै उजरी नआउने गर्दा नियन्त्रणमा लिन गाह्रो भएको उहाँको भनाई छ ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |