२०८० मंसिर २४, आईतबार
चितवन । नारायणी नदीमा बन्न लागेको नेपालकै पहिलो ‘सिग्नेचर ब्रिज’ निर्माणका लागि दोस्रोपटक सूचना प्रकाशन गरिएको छ। सडक विभागअन्तर्गतको पुल महाशाखाका अनुसार यसअघि कात्तिक २ गते आह्वान भएको ठेक्कामा कुनै पनि निर्माण कम्पनीले आवेदन नदिएपछि दोस्रोपटक ठेक्का आह्वान गरिएको हो। मंसिर २० गते पुल महाशाखाले पुनः आह्वान गरेको ठेक्काको म्याद १५ दिन अर्थात पुस ६ गते दिउँसो १२ बजेसम्म छ। हाल भइरहेको पुल यथावत राखी दुई लेनको नयाँ पुल निर्माण हुने पुल महाशाखाका सिनियिर डिभिजनल इन्जिनियर (सिडिई) राजकुमार अधिकारीले बताउनुभयो ।
महाशाखाका अनुसार नेपालमा पहिलोपटक बन्न लागेको सिग्नेचर ब्रिज निर्माणका लागि स्वदेशी कम्पनीले मात्रै आवेदन दिन मिल्ने व्यवस्था छ। तर, नेपाली इन्जिनियर तथा निर्माण व्यवसायीसँग सिग्नेचर ब्रिज निर्माणको अनुभव भने छैन। हाल सञ्चालनमा रहेको नारायणी नदीको पुलबाट माथिल्लो भागतिर नयाँ पुल निर्माण गर्ने योजना छ। पुल कहाँ बनाउने भन्ने विषय यकिन नभई ठेक्का आह्वान गरिएको महाशाखाले जनाएको छ।
पूर्वपश्चिम राजमार्गमा पर्ने नारायणी नदीको पुलमा दैनिक करिब १५ हजार सवारीसाधन आवतजावत गर्ने अनुमान छ। साथै, राजमार्गलाई ‘एसियन हाइवे’ का रूपमा विकास गरेर चार लेनमा स्तरोन्नति गर्ने योजना सरकारको छ। तत्काल दुई लेनको पुल बने पनि आवश्यकताअनुसार पछि फेरि दुई लेनको अर्को सिग्नेचर ब्रिज नै निर्माण गर्न सकिने सिडिई अधिकारीको भनाइ छ। २०३८ सालदेखि सञ्चालनमा रहेको वर्तमान नारायणी नदीको पुल जीर्ण बन्दै गएपछि नयाँ पुल निर्माण गर्न लागिएको हो।
पुल महाशाखाका अनुसार नयाँ बन्ने पुलको लम्बाई ४ सय २० मिटर हुनेछ। हाल सञ्चालनमा रहेको चितवन–नवलपरासी जोड्ने पुल ४ सय ६० मिटर लामो छ। हालसम्म महाशाखाले पुल निर्माणको लागत खुलाएको छैन। डिजाइन र निर्माणको काम सम्बन्धित कम्पनीले तयार गर्नुपर्ने भएकाले यकिन लागत अहिले नै भन्न नसकिने महाशाखाको भनाइ छ। तै पनि १ अर्ब रुपैयाँभन्दा बढी नारायणी पुल निर्माणमा खर्च हुने कर्मचारीको भनाइ छ। अत्याधुनिक प्रविधि प्रयोग गरेर नारायणी नदीमा आकर्षक एवं कलात्मक पुल निर्माण गर्न लागिएको हो। महाशाखाका अनुसार पुललाई पर्यटकमैत्री बनाउने सरकारको योजना छ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |