२०८० मंसिर २४, आईतबार
कावासोती । गण्डकी प्रदेश सरकारको नवप्रर्वतन कार्यक्रमका लागि नवलपुरका दुई पालिका छनौट भएका छन् ।
देवचुली नगरपालिका र मध्यविन्दु नगरपालिका नवप्रर्वतन कार्यक्रमका लागि छनौट भएका हुन् ।
देवचुली नगरपालिकामा गत सोमबार नै कार्यक्रमको सम्झौता भैसकेको हो । भने , मध्यविन्दुमा आइतबार सम्झौता भएको छ ।
देवचुली नगरपालिकामा साइलेस उत्पादन गर्ने कार्यक्रम अघि सारिएको छ भने , मध्यविन्दुमा प्रदुषण न्यूनिकरण, फोहोर व्यवस्थापन तथा जैविक मल उत्पादन कार्यक्रमको योजना अघि बढेको छ ।
आइतबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय,गण्डकी प्रदेश,पोखराको तर्फबाट सचिव मनमाया भट्टराई पङ्गेनी र मध्यविन्दु नगरपालिकाको तर्फबाट प्रमुख प्रशासकीय अधिकृत ज्ञानु प्रसाद पनेरुले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको छ ।
मध्यविन्दुमा प्रदुषण न्यूनिकरण, फोहोर व्यवस्थापन तथा जैविक मल उत्पादन कार्यक्रम अन्तरगत प्रविधियुक्त अत्याधुनिक प्रशोधित प्राङ्गारिक मल उत्पादन गर्ने र मल किसानलाई वितरण गर्ने उद्देश्य राखिएको छ । फोहोरमैला व्यवस्थापन अन्तरगत बाटोघाटोमा भएको फोहोरमैला र घाँसपात समेत सफा गरेर जैविक मल उत्पादन गरिनेछ । कार्यक्रम मार्फत जेष्ठ नागरिक समेतलाई स्वरोजगार बनाउने लक्ष्य राखिएको छ । जेष्ठ नागरिकहरूले पनि आफ्नो वरपर रहेका घाँसपात र पराल उपलब्ध गराउन सक्नेछन् । त्यसबाट उनीहरूलाई केही आयआर्जन समेत हुनेछ । स्थानीय स्तरमा रोजगारी सृजना हुने, प्रदुषण नियन्त्रण , फोहोर व्यवस्थापन समेत हुने र सँगै किसानलाई मल समेत उपलब्ध गराउन सकिने हुँदा यस कार्यक्रमबाट मध्यविन्दु नगरपालिकालाई नमुनाका रुपमा स्थापित गर्न सकिने नगर प्रमुख भिमलाल अधिकारीले बताउनुभयो ।
गण्डकी प्रदेश सरकारले यस कार्यक्रमका लागि २ करोड १३ लाख ८० हजार रकम प्रदान गर्नेछ ।
यस्तै देवचुली नगरपालिकामा साइलेस उत्पादनको कार्यक्रम अघि बढाइएको छ । मुख्यमन्त्री कार्यालय गण्डकी प्रदेशको तर्फबाट सचिव मनमाया भट्टराई पंगेनी र देवचुली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहन प्रसाद मरासिनीले सम्झौतामा हस्ताक्षर गर्नुभएको हो । जस अन्तरगत देवचुलीको १६ मा रहेको देवचुली कृषि शाखाको १० कठ्ठा जमिनमा उद्योग स्थापना गरिने छ । देवचुली नगरपालिका पशुपालनको क्षेत्रमा राम्रो भएका कारण पशुपालक किसानलाई लक्षित गरि साइलेस उत्पादन गर्ने कार्यक्रम अघि बढाइएको प्रशासकीय प्रमुख मरासिनीले बताउनुभयो । दूधमा आत्मनिर्भर हुँदै निर्यात गर्ने र स्थानीय स्तरमा नै रोजगारी सृजना गर्ने उद्देश्य अनुरूप यो कार्यक्रम सञ्चालन गरिएको हो । हिउँदको समयमा समेत पशुलाई आहाराको कमी नहोस् र साइलेस उत्पादन उद्योग सञ्चालन पछि रोजगारी सँगै घाँस उत्पादन गरेर समेत किसानले आयआर्जन गर्न सक्ने मरासिनीले बताउनुभयो ।
नवपर्वतन कार्यक्रम मार्फत प्रदेश सरकारले १३ लाख ८० हजार रकम सहयोग गर्ने छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय,गण्डकी प्रदेशकी सचिव पङ्गेनीका अनुसार सुशासन , सेवा प्रवाह र स्थानीय आर्थिक विकासको तीनवटा पाटामा नवप्रवर्तन कार्यक्रम मार्फत काम गरिनेछ । गण्डकी प्रदेशमा पाँच वटा स्थानीय तह यो कार्यक्रमका लागि छनौट भइसकेको पङ्गेनीले जानकारी दिनुभयो । नवलपुरका दुई , बाग्लुङका दुई र गोरखाको एउटा स्थानीय तह नवप्रवर्तन कार्यक्रमका लागि छनौट भएको उहाँको भनाई छ । यो कार्यक्रम निरन्तर रुपमा अघि बढ्ने उहाँले बताउनुभयो । स्थानीय तहले ल्याएको कार्यक्रमको मूल्याङ्कनको आधारमा यस कार्यक्रमका लागि छनौट हुने उहाँले बताउनुभयो । धेरै स्थानीय तहले कार्यक्रम पेश गरेपनि उत्कृष्ट हुन सफल पालिकाहरू छनौटमा परेको उहाँले बताउनुभयो ।
कार्यक्रमका लागि प्रदेश सरकारले ७० प्रतिशत र स्थानीय तहको ३० प्रतिशत लागत साझेदारी रहेको उहाँले जानकारी दिनुभयो ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |