२०८० मंसिर १६, शनिबार
कावासोती । केही वर्ष अघिसम्म नाङ्गो पाखापखेरामा सीमित रहेको नवलपुरको गैंडाकोट नगरपालिका १८ को बसेनी, डोँडे , रतनपुर बस्तीमा यतिबेला सुन्तला जात फलफूलका बोट बिरुवाले भरिभराउ छन् ।
तराईको राजमार्गसँग जोडिएको गैंडाकोट नगरपालिकाको दुर्गम ठाउँका रुपमा गैंडाकोट १८ चिनिन्छ । सुन्तला जात फलफूल खेती सुरु गरिएको बसेनी, डोँडे गाउँ करिब १५ सय मिटर उचाइमा छ ।
यहाँको नाङ्गो पाखामा यसरी हरियाली भएको धेरै समय पनि भएको छैन् । २०७५–०७६ बाट प्रधानमन्त्री कृषि आधुनिकीकारण परियोजना ( सुन्तला जात फलफूल जोन ) लागू भएपछि यहाँका पाखा पखेरामा किसानले फलफूल खेती गर्न हौसिए , जसको फलस्वरुप अहिले यहाँ पाखापखेरामा सुन्तला , कागती , निबुवा , मौसमका बोट देख्न सकिन्छ । यहाँ पुग्ने जोकोहीलाई पनि लाग्छ , लगानी र मेहेनत हुने हो भने असम्भव भन्ने केही नहुने रहेछ !
सरकारको लगानी र किसानको मेहनतले यहाँका नाङ्गो पाखापखेरा अहिले हरियाली मात्रै भएका छैनन् । सुन्तला जात फलफूलका बगैँचामा लटरम्म फल लागेका छन् । किसानले उत्पादन बिक्री समेत गर्न सुरु गरेका छन् ।
परियोजना लागू हुनुभन्दा अघि यहाँका बासिन्दाले व्यवसायिक रुपमा सुन्तला जात फलफूल खेती गर्दैनथिए , कताकती ढिक र जुठेल्नामा बोट लगाउथेँ । उत्पादन राम्रै थियो । जसले सुन्ताल जात फलफूल खेती गर्न उपयुक्त ठाउँ हो भन्ने पुष्टि गरेको थियो । अहिले भने , यहाँ विभिन्न कृषक समूह , व्यक्तिगत फर्म , कृषि सहकारी मार्फत व्यवसायिक रुपमा सुन्तला जात फलफूल खेती गरिएको छ ।
यहाँका ५१ घरधुरी व्यवसायिक फलफूल खेतीमा संलग्न छन् ।
यहाँ ठूलो मात्रामा सुन्तला जात फलफूल खेती गर्नुभएका किसान गुप्त प्रसाद रेग्मीले ८० रोपनी क्षेत्रफलमा सुन्तला जात फलफूल खेती गर्नुभएको छ । उहाँले ३ हजार बोट सुन्तला , कागती र निबुवाको बोट लगाउनुभएको छ । सुरुमा एभोकाडो खेती गर्ने सोचले उहाँले जग्गा खरीद गर्नुभएको थियो । पछि परियोजना लागू भएपछि सुन्तला जात फलफूल खेतीतर्फ आकर्षित भएको उहाँले बताउनुभयो ।
पहाडी क्षेत्रमा सिँचाइका लागि समस्या हुने भएपनि परियोजनाको सहयोगले निकै सहज भएको उहाँले बताउनुभयो । लिफ्टिङ्ग सिँचाइको काम जोन मार्फत भएको छ । मल बीउमा पनि अनुदानमा पाएपछि खेती गर्न हौसला मिलेको उहाँ बताउनुहुन्छ । केही समस्या परेमा फिल्डै मै आएर समस्या समाधान गर्ने हुँदा खेती गर्न कुनै पनि कठिनाइ नभएको उहाँको भनाई छ ।
ठूलो मात्रामा सुन्तला जात फलफूल खेती गर्नुभएका अर्का किसान युग बहादुर सारू मगरले डोँडे रतनपुर गाउँमा १६ रोपनी क्षेत्रफलमा सुन्तला र मौसम खेती गर्नुभएको छ । सुन्तला र मौसमको ६ सय बोट उहाँले रोप्नुभएको छ । यस अघि मकै कोदो लगाएर निर्वाहमुखी खेतीबाट जीवन निर्वाह गर्ने काम मात्रै हुँदै आएको उहाँको भनाई छ । उहाँले अझै खेती बिस्तार गर्ने सोच बनाउनुभएको छ । अब आफ्नो आर्थिक स्तर उकास्ने लक्ष्य राखेर व्यवसायिक कृषि खेतीमा लागेको बताउनुभयो । उहाँले करिब साढे चार लाख लगानी लगाएको जानकारी दिनुभयो । उहाँले खेती गर्न प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाबाट धेरै कुरामा सहयोग भएको बताउनुभयो । बिरुवा , कृषि औजार , सिँचाइ र प्राविधिक कुरामा परियोजनाले सहयोग गर्दै आएको उहाँले बताउनुभयो ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना , परियोजना कार्यान्वयन इकाई नवलपुरका प्रमुख विष्णु प्रसाद शर्माका अनुसार बौदीकाली , बुलिङ्टार , गैंडाकोटका विभिन्न नयाँ ठाउँमा परियोजनाले क्षेत्र बिस्तार गरेको छ । गैंडाकोट १८ मा पनि क्षेत्र बिस्तार अन्तरगत सुन्तला जात फलफूल खेतीमा किसान आबद्ध भएका छन् । किसानले यहाँ निकै राम्रो काम गरेको उहाँ बताउनुहुन्छ । नमूनाको रुपमा यस क्षेत्रमा सुन्तला जात फलफूल खेती विकास भइरहेको उहाँले बताउनुभयो । कार्यालय प्रमुख शर्माका यहाँ अनुसार २५ हेक्टर क्षेत्रफलमा करिब १० हजार बिरुवा रोपण गरिएको छ । कलमी र बीजु दुवै थरीका बिरुवा यहाँ रोपिएको छ । यहाँ उत्पादन दिन समेत सुरु भएको छ । एक पटक रोपेको बीरुवाले २० वर्षसम्म उत्पादन दिने उहाँले जानकारी दिनुभयो ।
जिल्लाका पहाडी क्षेत्रहरुमा जोन कार्यक्रम मार्फत क्षेत्रफल बिस्तारका कार्यक्रम भएका छन् । परियोजना लागू भएपछि नयाँ किसान समेत उत्साहित भएर लागेका छन् । भने पहिले देखि नै खेती गर्दै आएका किसानलाई समेत सहयोग पुगेको छ । बगैँचाको रेखदेख , मलजल र रोग कीरा लाग्दा परियोजनाले प्राविधिक सहयोग समेत गर्दै आएको छ । विभिन्न तालिम सञ्चालन गरेर किसानलाई सचेतना जगाउने काम समेत भएको छ । भने , नयाँ कामका रुपमा सुन्तला जात फलफूको नर्सरी समेत स्थापना गरिएको छ ।
परियोजना अन्तरगत सुन्तलाजातको विरुवमा ५० प्रतिशत, सिचाईका लागि ८५ प्रतिशत, कृषि औजारका लागि ५० , निशुल्क प्राविधीक सेवा , संकलन केन्द्र निर्माणका लागि ८५ प्रतिशत अनुदान प्रदान गरेर कृषकलाई खेतीका लागि प्रेरित गर्ने काम गरिएको छ ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |