२०८० मंसिर १४, बिहिबार
नवलपुर । पूर्व पश्चिम राजमार्गको मध्यभागमा पर्ने नवलपरासी (बर्दघाट सुस्तापूर्व) पर्यटकीय गन्तव्यका लागि सम्भावनाको जिल्ला हो । गण्डकी प्रदेश अन्र्तगत पर्ने नवलपुर भौगोलिक रुपमा तराई, भित्री मधेस र पहाड गरि तीन तले जिल्लाका रुपमा समेत चिनिन्छ । प्राकृतिक सँगै धार्मिक पर्यटकीय स्थल जिल्लाको चिनारीका रुपमा रहेका छन् । जहाँ वर्षेनी हजारौँको सङ्ख्यामा आन्तरिक तथा बाह्य पर्यटक आउने गर्दछन् ।
जिल्लामा रहेका धार्मिक स्थल प्रमुख पर्यटकीय गन्तव्यका रुपमा चिनिएका छन् । धार्मिक पर्यटकका लागि यहाँका मठ मन्दिर परिचित रहेका छन । जिल्लाका एक दर्जन बढी धार्मिक पर्यटकीय स्थल रहेका छन् । जस मध्य प्रमुख ५ धार्मिक पर्यटकीय गन्तव्य यस प्रकार रहेका छन् ।
त्रिवेणी धाम
त्रिवेणी धाम नवलपुरको प्रमुख पर्यटकीय क्षेत्र मध्यको एक हो । धार्मिक पर्यटकीय क्षेत्रका रुपमा रहेको त्रिवेणी धाम जिल्लाकै दक्षिण भूभाग अन्र्तगत विनयी त्रिवेणी गाउँपालिका –६ , मा अवस्थित रहेको छ । भारतीय सिमा क्षेत्र नजिक रहेको त्रिवेणी धाम तमसा , स्वर्ण भद्र र नारायणी नदिको संगम स्थलमा रहेको छ । यिनै तीन नदिको संगम स्थल भएकाले नै यो क्षेत्र त्रिवेणी धामका रुपमा नामाकरण भएको हो । पूर्व पश्चिम राजमार्गको बर्दघाटबाट २५ किलोमिटर दक्षिण तर्फ यात्रा गरेपछि त्रिवेणी धाम पुग्न सकिन्छ । त्रिवेणी धाम देशकै प्रसिद्ध धार्मिक क्षेत्रका रुपमा परिचित रहेको छ ।
त्रिवेणी धाममा रहेका गजग्राह, लक्ष्मीनारायण मन्दिर, राधाकृष्ण, हनुमान, शिव पार्वतीका मन्दिर आदि यहाँका आकर्षणका रुपमा रहेका छन् । यो सँगै त्रिवेणी धाममा रहेको सिस महलले यहाँ पुग्ने जो कोहीको मन तान्ने गर्दछ । सिसै सिसाले मन्दिरको भित्री भाग निर्माण गरिएको छ ।
त्रिवेणी धाममा साउन महिनामा धार्मिक यात्रामा जानेको संख्या उल्लेख्य हुने गर्दछ । माघे औँसी , शिवरात्रिमा यहाँ धार्मिक मेला लाग्ने गर्दछ । ‘त्रिवेणी धाम आफ्नो पालिकामा पर्ने भएपनि देशकै प्रमुख धार्मिक क्षेत्र हो, यहाँ थप पर्यटकीय प्रर्वद्धन गर्न योजना बनाइरहेका छौं’ विनयी त्रिवेणी गाउँपालिका अध्यक्ष धनश्याम गिरीले भन्नुभयो । भारतीय सीमासँग जोडिएकाले यसको थप प्रर्वद्धन गरि लाखौं भारतीय धार्मिक पर्यटक भित्राउन सकिने उहाँले बताउनुभयो ।
मौलाकालीका मन्दिर
नवलपुरको धार्मिक पर्यटकीय क्षेत्र मध्यको एक प्रसिद्ध मन्दिर हो मौलाकालीका मन्दिर । नवलपुरको गैँडाकोट नगरपालिका अन्र्तगत पर्ने यस मन्दिर आज भन्दा करिब २ सय वर्ष पहिले पाल्पाली राजा मकुन्दसेनको पालामा स्थापना भएको जनाइन्छ । हाल प्यागोडा शैलीको आकर्षक मन्दिर निर्माण गरिएको छ ।
पूर्व पश्चिम राजमार्गको नारायणी पुलबाट करिब ४ किलोमिटर उत्तर तर्फ पहाडको टुप्पोमा समुद्र सतहदेखी ५ सय ६१ मिटर उचाइमा मौलाकालीका मन्दिर अवस्थित रहेको छ । मन्दिर परिसरबाट गैँडाकोट, भरतपुर ,नारायणी नदी , देवघाट धाम क्षेत्र देखि मनोरम हिमाली दृश्यहरु समेत अवलोकन गर्न सकिन्छ । मौलाकालीका मन्दिरको दर्शनका लागि देशका विभिन्न भूगोल सहित भारतबाट समेत वर्षेनी हजारौं धार्मिक पर्यटक आउने गर्दछन् ।
मौलाकाली मन्दिरमा अहिले केबुलकार संचालनको समेत तयारी गरिएको छ । मन्दिरमा पुग्न थप सहजता होस भनेर यहाँ केबुलकार संचालनको तयारी गरिएको हो ।
दाउन्ने देवी मन्दिर
विनयी त्रिवेणी गाउँपालिका भित्र पर्ने नवलपुरको अर्को प्रमुख धार्मिक पर्यटकीय स्थल मध्य दाउन्ने देवी मन्दिर एक हो । दाउन्ने पर्वतमा अवस्थित यस क्षेत्रमा पूर्व पश्चिम राजमार्गको दाउन्ने बजारबाट करिब आधा घण्टाको पैदल यात्रामा पुग्न सकिन्छ । राजमार्गको छेउमा रहेको र यातायातको सहज पहुँचका कारण पनि दाउन्ने मन्दिरको महत्व बढेको छ ।
दाउन्ने पहाडको काखमा १ हजार २३ मिटर अग्लो उचाइमा रहेको यो मन्दिरको स्थापना संवत् १८८० मा गरेको बताइन्छ । राणाकालीन प्रधानमन्त्री जंगबहादुर राणाको सौजन्यबाट देवी मूर्ति प्राप्त भएपछि यहाँ स्थापना गरिएको भनाइ रहिआएको छ ।
दाउन्ने मन्दिर जाँदा यात्राको बिच भागमा बौद्धमार्गीहरूको गुम्बा भेट्न सकिन्छ । कलात्मक गुम्बा यहाँको आकर्षणका रुपमा रहेको छ । विशेष गरी साउन महिना भरी भक्तजनको उल्लेख्य उपस्थित रहने गर्दछ । यस बाहेक अन्य समयमा समेत भ्रमणका लागी धार्मिक पर्यटकहरू यहाँ पुग्ने गर्दछन् ।
अकलादेवी माई
जिल्लाको धार्मिक पर्यटकीय क्षेत्र मध्यको अकलादेवी अर्को महत्वपूर्ण स्थल हो । बौदिकाली गाउँपालिका –२, डेढगाउँमा पर्ने यो मन्दिर पहाडी क्षेत्रको प्रमुख धार्मिक पर्यटकीय क्षेत्र मध्य पर्दछ । हाल निर्माणाधिन कालिगण्डकी करिडोरसँगै अकलादेवी जोडिएको छ । यसले यसको महत्व थप बढाएको छ र करिडोर निर्माणसँगै यसको संरक्षण गर्नुपर्ने आवश्यकता समेत देखिएको छ ।
स्थानीय जनश्रुति अनुसार हाल मन्दिर रहेको स्थानमा एउटा ढुङ्गा रहने गरेको जुन स्थानीय गोठालाले केही तल चौरमा फालेर आएतापनि फेरि अर्को दिन सोहि स्थानमा आउने गरेकाले अलौकिक शक्ति रहेको यकिन गरी मन्दिर स्थापना गरिएको भनाई छ ।
मन्दिर नजिकै अकला गुफा समेत रहेको छ । चैत पूर्णीमाका दिन यहाँ धार्मिक मेला लाग्ने गर्दछ । नवलपुर सहित छिमेकि जिल्लाहरु तनहुँ, स्याङ्जा, पाप्पा, चितवन, गुल्मी, कास्की सहित देशका अन्य भागबाट समेत भक्तजनहरु मनोकामना पुरा हुने मान्यताले पुजाअर्चनाका लागि अकलादेवी आउने गर्दछन् ।
शाश्वतधाम
नवलपुरको देवचुली नगरपालिका –२, मा शास्वतधाम रहेको छ । शाश्वतधाम पछिल्लो समय पर्यटनको प्रमुख गन्तव्य बनेको छ । शाश्वतधाम पूर्व पश्चिम राजमार्गसँगै जोडिएको छ ।
सनातन धर्मको आध्यात्मिक र धार्मिक महत्वलाई सुरक्षा गर्न पुरातात्विक तथा आधुनिक शिल्पी उपयोग गरेर धाम निर्माण गरिएको छ । “धर्मो रक्षति रक्षति“ अर्थात् धर्मको रक्षा गरे धर्मले हामीलाई रक्षा गर्छ भन्ने मुल मन्त्रलाई आत्मसात् गर्दै देवचुली र वडाचुली पहाडको काखमा अवस्थित शाश्वत धाम नेपालकै एक महत्वपूर्ण धार्मिक एवं पर्यटकीय स्थलका रुपमा चिनिएको छ ।
करिब ७ बिघा क्षेत्रफलमा फैलिएको धामको मध्यभागमा दक्षिणी भारतमा प्रसिद्धि कमाएको खजुराव शैलीमा बनेको एकाम्बरेश्वर महादेव मन्दिर रहेको छ । यो मन्दिरलाई चारैतिरबाट तालले घेरेको छ। यो तालमा बद्री, केदार, हरिद्वार, मुक्तिनाथ, पशुपतिनाथ जस्ता प्रसिद्ध धार्मिक तीर्थस्थलबाट ल्याइएको जल मिसाइने भएकाले यो ताललाई ’सर्वोतीर्थ सरोवर’ नामकरण गरिएको छ ।
मन्दिरका अलावा धाममा गुरुकुल, विद्याश्रम, बौद्ध, चैत्य, बुद्धिष्ट सेन्टर, दशद्वार, अर्जुनरथ, ढुङ्गेधारा, श्रीकृष्ण लीला, वैदिक खेल (लीला), अखण्ड अग्नि कुण्ड, धर्मशाला, यज्ञ कुण्ड, हनुमान मन्दिर, धार्मिक संग्राहलय, धार्मिक पुस्तकालय, हेरिटेज बिल्डिङ्ग हल रहेका छन् ।
शाश्वत धामको गत महिना सम्ममा ४२ लाखले अवलोकन गरेको जनाइएको छ । पाँच वर्षको अवधिमा यो सङ्ख्यामा आन्तरीक तथा वाह्य पर्यटकले यसको अवलोकन गरेका हुन् ।
शाश्वत धामलाई नेपाल सरकारले उत्कृष्ट पर्यटकीय गन्तव्य स्थलका रुपमा सूचीकृत गरिसकेको छ ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |