२०८० मंसिर २०, बुधबार
नवलपुर । नवलपुरलाई प्रदेश राजधानी पोखरासँग जोड्ने सडक निर्माण कार्यले गति लिन सकेको छैन् । नवलपरासी ( बर्दघाट सुस्तापूर्व ) नवलपुरको कावासोती स्थित फलफूल चोक – बोझापोखरी– हुँदै कोखेटार सम्म निर्माण गर्ने भनिएको सडक निर्माणका लागि तेस्रो पटक म्याद थप गरिएको छ ।
वि. सं. २०७४ जेठ ३१ गते ठेक्का सम्झौता भएको कावासोती – कोखेटार सडक निर्माणको काम वि. सं. २०७७ जेठ मसान्त सम्ममा सकी सक्नुपर्ने थियो । तर त्यस यता तेस्रो पटक म्याद थप गरिएको छ । पछिल्लो पटक आउँदो चैत मसान्त सम्म म्याद थप गरिएको सडक डिभिजन कार्यालय भरतपुरका इन्जिनियर राजेन्द्र महर्जनले बताउनुभयो । तर थपिएको समयमा समेत सडक निर्माण कार्यले पूर्णता पाउनेमा आशंका पैदा भएको छ ।
पहिलो खण्डमा कावासोतीको फलफूल चोक देखी १४ किलोमिटर कालोपत्रे र त्यस पछिको ६ किलोमिटर ग्राभेल यस्तै दोश्रो खण्डमा २० किलोमिटर ग्राभेल गर्ने गरि ठेक्का सम्झौता भएर काम अगाडि बढेको थियो । दुवै खण्ड गरि कुल रु ८४ करोड ९८ लाख ८ हजार २४१ मा सडक निर्माणका लागि ठेक्का सम्झौता भएको हो । पहिलो खण्डमा सन्तोसी – रौताहा – हरिहरी जेभी र दोश्रो खण्डमा पप्पुकोशी – न्यौपाने –बन्धना भगवती जेभीले निर्माणको जिम्मा पाएका थिए । तर अहिले पहिलो खण्डमा करिब ६ किलोमिटरमा कालोपत्रेका लागि ‘सिंगल कोट’ ( कालोपत्रे को प्रारम्भिक तह) को काम सकिएको छ । दोस्रो खण्डमा करिब ५ किलोमिटरमा ग्राभेल गर्ने काम सकिएको इन्जिनियर महर्जनले जानकारी दिनुभयो । त्यसबाहेक केही क्षेत्रमा नाला निर्माण र पहाडी क्षेत्रमा बाटो फराकिलो बनाउन भित्ता काट्ने काम मात्रै भएको छ ।
सुरुको केही समय सडक निर्माणको काम कसले गर्ने भन्नेमा अन्योल रहँदा निर्माण कार्य प्रभावित बन्यो । प्रारम्भिक चरणमा सडक डिभिजन कार्यालय बुटवल मातहतमा निर्माणको काम अघि बढेकोमा पछि गण्डकी प्रदेश मातहतमा काम अघि बढ्यो । अहिले फेरी यस सडक निर्माणको काम सडक डिभिजन कार्यालय भरतपुर मातहतबाट हुँदै आएको छ ।
केही समय कोभिड र पछि बजेट निकासा नहुँदा निर्माण कार्य प्रभावित बनेको सडक डिभिजन कार्यालय भरतपुरका इन्जिनियर महर्जनले बताउनुभयो । ‘केही समय कोभिडले प्रभाव पर्यो ,बजेटको पनि नियमित निकासा हुन सकेन ,यसले पनि निर्माणको काम प्रभावित बन्यो’ महर्जनले भन्नुभयो ।
अहिले पनि यस सडकका लागि रु. ४ करोड मात्रै बजेट विनियोजन गरिएको उहाँले बताउनुभयो । ‘११÷१२ करोडको काम बाँकी छ, अहिले पनि ४ करोड मात्रै विनियोजन गरिएको छ’ महर्जनले भन्नुभयो ‘अब विनियोजित बजेटले त पुग्दैन तर सकिएपछि थप रकम माग्छौं, यो वर्ष सकभर काम सक्ने गरि लाग्छौ ।’ अहिले कावासोती– बोझाफोखरी र बोझा – कोखेटार सम्मको दुबै प्याकेजमा करिब ७५ प्रतिशत भौतिक प्रगति भएको इन्जिनियर महर्जनले बताउनुभयो ।
नवलपुरको पहाडी क्षेत्र छिचोल्दै कोखेटारमा पुगी कालिगण्डकी करिडोरमा यो सडकले छुने छ । त्यसपछि करिडोर हँदै डेढगाउँ –भिमाद–खैरेनिटार –पोखरा जोड्ने महत्वपूर्ण सडक निर्माणमा ढिलासुस्ती हुँदा यस क्षेत्रका बासिन्दाले चिन्ता व्यक्त गरेका छन् । पहाडी क्षेत्रको ‘लाईफ लाइन’का रुपमा समेत हेरिएको यो सडक छिटो निर्माण हुनुपर्ने माग यस क्षेत्रका बासिन्दाको रहेको छ । यो सडक निर्माणले नवलपुरलाई आफ्नै प्रदेशको बाटो हुँदै प्रदेश राजधानीलाई जोड्ने छ । अहिले प्रदेश राजधानी पोखरा पुग्न बाग्मती प्रदेशको चितवन हुँदै वा लुम्बिनी प्रदेशको रुपन्देही–पाल्पा–स्याङजा हुँदै पोखरा जानुपर्ने बाध्यता रहेको छ ।
जिल्लालाई प्रदेश राजधानीसँग जोड्ने महत्वपूर्ण सडकका रुपमा हेरिएको यो योजना निर्माणको काम जतिसक्दो चाँडो सम्पन्न गर्नुपर्ने कावासोती नगरपालिका –६, का वडा अध्यक्ष यम बहादुर थापाले बताउनुभयो । अहिले बाटो निर्माणको काम अलपत्र पर्दा फलफूल चोक –हात्तिखोर खण्डमा धुलो उडेर स्थानीयले सास्ती खेप्नुपरेको समेत अध्यक्ष थापाले गुनासो गर्नुभयो ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |