२०८० मंसिर १४, बिहिबार
नवलपुर । नवलपरासी ( बर्दघाट सुस्तापूर्व ) नवलपुरमा धान खेतीमा सेतो झिंगाको (ह्वाइट फ्लाई) प्रकोप देखिएको छ । कृषकले लगाएको धान खेतीमा सेतो झिंगाको प्रकोप देखिएको हो । सेतो झिंगाले धानको पात चुसेर पहेँलो बनाउने समस्या देखिएको कृषि ज्ञान केन्द्र नवलपरासी ( बर्दघाट सुस्ता ) पूर्व नवलपुरका सूचना अधिकारी शंकर पौडेलले बताउनुभयो ।
जिल्लाको राजमार्ग आसपासका क्षेत्रहरू गैंडाकोट देखि विनयी त्रिवेणी सम्मका धान खेतीमा सेतो झिंगाको समस्या देखिएको उहाँले बताउनुभयो । ‘कृषकहरूको धेरै गुनासो आइरहेको छ , सामान्यता हामी फिल्डमा जाँदा पनि सेतो झिंगाको समस्या देखिएको छ, धान खेत पहेँलो देखिन्छ’ सूचना अधिकारी पौडेलले भन्नुभयो – यसको नियन्त्रण गर्न सकिएन र थप बढ्दै गए उत्पादनमा समेत कमी आउन सक्छ । यकिन रुपमा कति क्षेत्रफलमा यस्तो समस्या रहेको छ भनेर तथ्याङ्क नआएको भएपनि जिल्लाको सबै जसो क्षेत्रमा सेतो झिंगाकोे समस्या देखिएको उहाँको भनाई छ ।
मसिनो खालको सेतो झिंगाले धानको पात चुस्ने र सेतो झिंगाले चुसेका पात क्रमश पहेँलो हुँदै जाने गरेको उहाँले बताउनुभयो । किराको कारणले धान पहेँलोे भएको बेला किसानले मल नपुगेर यस्तो भयो भन्ने ठानी युरिया मल हाल्दा समस्या झन थपिएको सूचना अधिकारी पौडेलले बताउनुभयो । ‘केही ठाउँमा खाद्यतत्त्वको कमी पनि छ , तर कृषि प्राविधिकको सल्लाह बिना युरिया मात्रै राख्दा धान हरियो बनाउन सहयोग गर्छ र किरालाई थप खानेकुरा मिल्छ, यसले किराको संख्या बढाउने हुँदा रोग फैलन सक्छ’ सूचना अधिकारी पौडेलले भन्नुभयो– कृषि प्राविधिक सल्लाह लिएर उपचार गर्नुपर्छ ।
सेतो झिंगाको समस्याका कारण धान खेती पहेँलो हुँदै जादा किसान चिन्तित बनेका छन् । धान खेती पहेँलो हुँदा बोट नसप्रने र पछि उत्पादनमा कमी आउने हो कि भन्ने चिन्ता किसानमा थपिएको छ ।
युरिया, डिएपी जस्ता मल प्रयोग गर्दा कृषि प्राविधिकको सिफारिसमा मात्रै प्रयोग गर्ने र सेतो झिंगाको नियन्त्रणका लागि इमिडा अथवा रोगर भन्ने औषधी बजारमा पाइने हुँदा यसो मात्रा मिलाएर प्रयोग गरे नियन्त्रणमा आउने सूचना अधिकारी पौडेलले बताउनुभयो । । पानी नपरेको समयमा प्राविधिकको सल्लाहा अनुसार विषादी प्रयोग गरे सेतो झिंगाको समस्या समाधान हुन सक्ने उहाँले बताउनुभयो ।
नवलपुरको गैंडाकोट, देवचुली, मध्यविन्दु , कावासोती, विनयी त्रिवेणी, हुप्सेकोट लगायतका क्षेत्रमा धेरै धान खेती लगाउने गरिन्छ । नवलपुरमा करिब १८ हजार ८१६ हेक्टर क्षेत्रफलमा वर्षे धान लगाइएको छ ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |