२०८० मंसिर १६, शनिबार
कावासोती । रेडप्लसका बारेमा गाउँगाउँसम्म सुसूचित गर्न जिल्ला स्तरीय रेडप्लस मञ्च गठन गरिएको छ ।
सामुदायिक वन उपभोक्ता महासंघ, जिल्ला महासंघ नवलपुरले सोमबार कावासोतीमा रेडप्लसको प्रकृयाबारे बहुसरोकारवाला छलफल तथा जिल्ला स्तरीय रेडप्लस मञ्च गठन कार्यक्रम आयोजना गरेर सामुदायिक वन उपभोक्ता महासंघ जिल्ला महासंघ नवलपुरका अध्यक्ष ठाकुर प्रसाद पाण्डेको संयोजकत्वमा मञ्च गठन गरेको हो । सरोकार राख्ने विभिन्न १२ वटा संस्थाबाट प्रमुख तथा प्रतिनिधिहरू सदस्यका रुपमा मञ्चभित्र रहनुभएको छ । जसमा नेपाल पत्रकार महासंघ , नेपाल आदिवासी जनजाति महासंघ , राष्ट्रिय आदिवासी जनजाति महासंघ , राष्ट्रिय कृषक समूह , महिला अधिकार मञ्च , स्थानीय महासंघ , डिभिजन वन कार्यालय लगायतका विभिन्न सङ्घसंस्थाका प्रमुख तथा प्रतिनिधि सदस्यमा चयन हुनुभएको हो ।
मञ्च मार्फत नवलपुरमा कार्बन उत्सर्जन न्यूनिकरण कार्यक्रम सम्बन्धी छलफल तथा पैरवी गर्ने काम हुने संयोजक पाण्डेले जानकारी दिनुभयो । मञ्च मार्फत रेडप्लस कार्यक्रमका बारेमा तल्लो तहसम्म सचेतना प्रदान गर्ने र वनमा आश्रित समुदायलाई बढि भन्दा बढि फाइदा पुग्ने गरि कार्यक्रम गर्न पहल गर्ने समेत पाण्डेले बताउनुभयो ।
कार्यक्रममा रेडप्लस कार्यक्रम अधिकृत रमेश तिमिल्सिनाले रेडप्लसको प्रकृयाका बारेमा जानकारी गराउनुभएको थियो । उहाँले रेड रणनीति र लक्ष्यका बारेमा जानकारी दिदै, दिगो वन व्यवस्थापन गर्ने , कार्बन उत्सर्जन न्यूनिकरण र धेरै भन्दा धेरै कार्बन सञ्चित गर्ने नै रेडप्लस कार्यक्रमको मुख्य लक्ष्य रहेको बताउनुभयो । उहाँले रेड रणनीतिमा कतिपय कुरा पुनरावलोकन गर्न जरुरी रहेको बताउनुभयो । उहाँले रेड कार्यक्रम अन्तरगत हुने विभिन्न संयन्त्रमा समावेशीकरण अभाव देखिएको , कार्यक्रमबाट प्राप्त हुने रकम उपभोक्तासम्म आइपुग्दा कम आउने देखिएको , सामुदायिक वनले निर्माण गर्ने वन कार्ययोजना ओझेलमा पर्ने देखिएको जस्ता विषयमा पैरवी गर्न आवश्यक देखिएको बताउनुभयो । रेडप्लस कार्यक्रमले वन लगानी योजना निर्माण गर्नुपर्ने नीति लिएको तर , त्यसले सामुदायिक वनलाई झन्झटिलो बनाउने , वन कार्ययोजना विस्थापित हुने अवस्था सृजना गर्ने उहाँको भनाई छ । वन लगानी योजना डिभिजन वन कार्यालयमा पेश गरेर डिभिजनबाट पारित भएपछि मात्रै प्रोत्साहन रकम पाउने कुराले पक्षपात हुने सम्भावना देखिएको , मूल्याङ्कन कसले कसरी गर्ने भन्ने प्रश्न समेत खडा भएको उहाँले बताउनुभयो ।
यस्तै कार्यक्रममा बोल्दै डिभिजन वन कार्यालय नवलपुरका प्रमुख मोहनराज काफ्लेले रेडप्लस कार्यक्रम सन् २००९ बाट सुरुआत भएको भएपनि आजसम्म आइपुग्दा रेडबाट के पाइने , कति पाइने भन्ने कुरा यकिन हुन नसकेको जिकिर गर्नुभयो । उहाँले भन्नुभयो – ‘नेपालले अहिले रेडप्लस रणनीति कार्यान्वयन गरिसकेको अवस्था रहेपनि समुदायलाई रेडप्लसबाट यो समयदेखि , यति र यसरी भुक्तानी हुन्छ है भनेर भन्न डिभिजन वनले सकेको छैन् । किनभने अन्तराष्ट्रिय मेकानिजम र राष्ट्रिय मेकानिजममै हामी अलमल गरिराखेका छौ । ’ उहाँले डिभिजन वनमा पनि रेडको छुट्टै इकाइ रहने भनेपनि अहिलेसम्म त्यस किसिमको संयन्त्र बन्न नसकेको समेत बताउनुभयो ।
कार्यक्रममा प्रमुख अतिथि तथा कावासोती नगरपालिका प्रमुख विष्णु प्रसाद भुसालले समुदायले जोगाएको वन समुदायको हीतको लागि प्रयोग गर्न पाउनुपर्नेम जोड दिनुभयो । उहाँले समुदायले वन नजोगाउने हो भने सरकारी संयन्त्रले कुनै पनि काम गर्न नसक्ने बताउनुभयो । काम गर्ने एउटा भाग लगाउने अर्को परिपाटी रहेका कारण सही तरिकाले समुदायसम्म लाभ पुग्न नसक्ने अवस्था रहने उहाँको भनाई थियो । उहाँले रेडप्लस कार्यक्रमबाट पाउने अनुदान तल्लो तहसम्म पुग्नुपर्ने र आज गठन भएको मञ्चले यसका लागि समन्वय गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा सहभागि विभिन्न संघसंस्थाहरुको तर्फबाट नेपाल पत्रकार महासंघ नवलपुरका उपाध्यक्ष नविन पौडेलले बोल्नुभएको थियो । विश्वका विकासित राष्ट्रहरुले कार्बन उत्सर्जन गर्ने र नेपाल जस्ता विकासउन्मुख राष्ट्रहरुले वातावरण जोगाइदिनुपर्ने , कार्बन सञ्चित गरिदिनुपर्ने अहिलेको अवस्था रहेको हुँदा हामिले अधिकतम फाइदा लिन सक्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रम सामुदायिक वन उपभोक्ता महासंघ केन्द्रिय सदस्य सीता खड्का , प्रदेश सदस्य देवीमाया घिमिरे , शिक्षा विकास तथा समन्वय इकाई नवलपुरका प्रमुख कृष्णचन्द्र पोख्रेल , मानव अधिकार एलायन्स नवलपुरका अध्यक्ष बाबुराम पाण्डे , नेपाल आदिवासी जनजाति महासंघ नवलपुर सचिव इन्द्र फाल मगर , राष्ट्रिय आदिवासी जनजाति महिला महासंघ सचिव देवीसरा पुलामी , साुमदायिक वन उपभोक्ता महासंघ, जिल्ला महासंघ कोषाध्यक्ष हुमनाथ पाण्डे , कार्यालय सचिव खेमनारायण महतो लगायत विभिन्न सरोकारवालाहरुको सहभागिता रहेको थियो ।
कार्यक्रम साुमदायिक वन उपभोक्ता महासंघ जिल्ला महासंघ नवलपुरका अध्यक्ष ठाकुर प्रसाद पाण्डेको अध्यक्षतामा भएको थियो ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |