२०८१ बैशाख १५, शनिबार
कावासोती । सरकारले वृद्धि गरेको सहकारी संस्थाको कर समायोजन गर्न सहकारी कर्मीहरुले माग गरेका छन् ।
मंगलबार सहकारी बैङ्क लिमिटेड कावासोतीको आयोजनामा भएको मर्यादित व्यवसाय र प्रविधिमा सहकारी विषयक अन्तरकृया सम्मान तथा पुरस्कार वितरण कार्यक्रममा बोल्ने सहकारी कर्मीहरुले उक्त कुरामा जोड दिएका हुन् । सहकारीले देशको अर्थतन्त्रमा ठूलो सहयोग पुर्याउनुका साथै समाजमा सहकारीको माध्यमबाट धेरै क्षेत्रमा आर्थिक तथा सामाजिक कामहरू भइरहेको परिवेशमा राज्यले कर खटाउनुपर्नेमा उल्टै बढाउने काम गरेको गुनासो उनीहरूको छ । सहकारीका विभिन्न छाता संस्थाहरूले करको दायरा समायोजन गर्न सशक्त भूमिका खेल्नुपर्ने उनीहरूले बताएका छन् ।
कार्यक्रममा आफ्ना भनाइ राखेका आधिकांश सहकारी कर्मीहरूले समयको माग अनुसार सहकारीलाई प्रविधिमैत्री बनाउन आवश्यक देखिएकोमा जोड दिएका छन् । त्यसका लागि दक्ष जनशक्ति सहकारी संस्थालाई आवश्यक पर्ने भएकाले त्यस्ता जनशक्ति तयार गर्न सहकारी बैङ्कले तालिमको आयोजना गरेर सहयोग गर्न समेत उनीहरूको आग्रह छ ।
यस्तै सहकारी बैङ्कले कृषि तथा दूग्ध सहकारीका लागि विशेष कार्यक्रम र सहुलियत दिनुपर्ने समेत माग राखेका छन् ।
कार्यक्रममा सहकारी अभियन्ताहरूको तर्फबाट बोल्ने वक्ताहरूले सहकारी संस्थाहरूमा काम गर्ने एउटै प्रविधिको विकास गर्न जरुरी रहेकोमा जोड दिएका थिए । सहकारी पिच्छे फरक फरक तरिकाबाट गरिने कामका कारण धेरै समस्याहरू निम्तिरहेको र त्यस्ता समस्या समाधान गर्न समेत झन्झटिलो हुने गरेको भन्दै अभियन्ताहरूले अब सहकारीबीच एकता कायम गर्दै एउटै सफ्टवेयर मार्फत काम गर्ने परिपाटी मिलाउन आवश्यक रहेको औँल्याएका छन् । यसैगरी कतिपय विभिन्न उद्देश्य राखेर स्थापना भएका सहकारी हरूले आफ्नो उद्देश्य अनुसार काम गर्न नसकिरहेको समेत बताएका थिए । फरक उद्देश्य राख्ने तर , काम भने बचत र ऋणको मात्रै गर्ने गरेको पाइएकाले त्यस्ता सहकारीहरु सुध्रिन समेत आग्रह गरेका छन् । यस्तै कतिपय ग्रामीण क्षेत्रबाट कावासोतीसम्म सहकारी बैङ्क शाखामा आउन समय लाग्ने , पैसा बढी खर्च हुने समस्या रहेकाले शा कार्यालयहरू स्थापना गरेर सेवा दिन समेत आग्रह गरिएको छ । भने , सहकारीमा कार्यरत कर्मचारी र सञ्चालक समितिका सदस्यहरूको क्षमता अभिवृद्धिमा समेत लगानी गर्न आवश्यक रहेको बताएका छन् ।
कार्यक्रममा प्रमुख अतिथि तथा सहकारी बैङ्क सञ्चालक समिति अध्यक्ष केबी उप्रेतीले सहकारी कर्मीबाट आएका कुरालाई जवाफ दिदैँ सरकारले ल्याएका नीतिलाई सबै सहकारीले मान्नै पर्ने बताउनुभयो । करको विषय सँगै सहकारी विभागले ल्याएको ३५ बुँदे सहकारी नीतिको विषयमा समेत आफुहरुले संशोधनको माग राखेको जानकारी गराउँदै संशोधन नहुँदासम्म सहकारीलाई अटेर गरेर नबस्न आग्रह गर्नुभयो । उहाँले सहकारीमा कार्यरत कर्मचारी र सञ्चालक समितिका सदस्यहरूको क्षमता अभिबृद्धि गर्ने कुरामा सहकारी बैङ्क सकारात्मक रहेको बताउनुभयो । उहाँले शाखा कार्यलय स्थापना गरेर सेवा दिने बारेमा समेत सम्भाव्यता के छ अध्यन गरेर उपयुक्त लागे त्यो काम पनि अघि बढाउने बताउनुभयो ।
कार्यक्रममा राष्ट्रिय सहकारी बैङ्क लिमिटेडका नायव महाप्रबन्धक राजेश श्रेष्ठले नेपालको वित्तीय तथा सहकारी क्षेत्रको पछिल्लो अवस्थाका बारेमा प्रस्तुतीकरण गर्नुभएको थियो । उहाँले सोक्रममा सहकारी बैङ्कले फन्ड ट्रान्फर र एटिएमा सेवा अब केही दिनभित्रै सुरु गर्ने जानकारी गराउनुभयो । यस्तै उहाँले अहिले देशमा आर्थिक संकटको अवस्था आउन सक्ने कुरा आइरहेको सन्दर्भ उल्लेख गर्दै तरलता संकटको समाधान गर्न राज्यले पूँजीगत खर्चमा वृद्धि गर्नुपर्ने , विप्रेषण आप्रवाहमा बृद्धिको अपेक्षा , बाह्य देशका वित्तीय संस्थाबाट कर्जा सापट , गैर आवासीय नेपालीहरुको निक्षेप आकर्षण र नीतिगत प्रावधानको क्षेत्रमा काम गर्न जरुरी रहेको औल्याउनुभयो । भने, सहकारी संस्थाले तरलत संकटको समाधान गर्न अति जरुरी बाहेक अन्य खर्च नगर्ने , भाखा नाघेको ऋण असुलीलाई प्रयाप्त ध्यान दिने , सदस्य भेटघाट तथा अन्तरकृया एबम् वित्तीय साक्षरता कार्यक्रमलाई जोड दिने लगाउतका व्यवस्था गर्न सुझाव दिनुभयो ।
कार्यक्रममा आर्थिक वर्ष २०७७ ÷०७८ मा शाखा स्तरीय नियमित कारोवार विधामा कावासोती स्थित कावासोती बहुउदेश्यीय सहकारी संस्था र शाखा स्तरीय उत्कृष्ट कारोवार विधामा मध्यविन्दु स्थित नव प्रतिभा बचत तथा ऋण सहकारी संस्थालाई सम्मान समेत गरिएको थियो ।
सहकारी बैङ्क कावासोती शाखा समन्वय उपसमिति संयोजक तिलक प्रसाद पराजुलीको अध्यक्षतामा कार्यक्रम भएको थियो । कार्यक्रममा राष्ट्रिय सहकारी बोर्डका पोषणराज सुवेदी , जिल्ला सहकारी संघका अध्यक्ष केशव प्रसाद सापकोटा , जिल्ला बचत संघका अध्यक्ष होमनाथ जैशी , सहकारी कर्मचारी समाजका अध्यक्ष नरभुपाल भुसाल , शाखा समन्वय समिति सदस्य नारायण प्रसाद पौडेल , छविलाल अर्याल लगायतको आतिथ्यता रहेको थियो ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: [email protected]
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |