२०८० मंसिर १४, बिहिबार
कावासोती । हामी विभिन्न सभा समारोह र कार्यक्रममा सुन्ने गर्छौ ‘परिवर्तन आफैँबाट गर्नुपर्छ ’ कुनै कार्यक्रममा सहभागि हुँदै गर्दा बोलेका यी कुराको कार्यान्वयन गर्नेहरू भने निकै कम पाइन्छ । साँच्चै परिवर्तन गर्न दृढ सङ्कल्प साथ आँट गर्ने हो भने , परिवर्तन सम्भव छ । परिवर्तन ठूलै हुनुपर्छ भन्ने छैन् । सानै भएपनि त्यसले ठूलो अर्थ राख्छ । जसमध्येको एक संस्था हो कावासोती आठ स्थित प्रगति टोल विकास संस्था । सानो टोल , जम्मा ७० घरपरिवार संलग्न तर , काम भने उदाहरणीय गर्दै आएको छ ।
कावासोती नगरपालिकामा अहिले करिब एक सय ८० टोल विकास संस्था गठन भएका छन् । उनीहरूले आफ्नो आफ्नो टोलमा भूमिका निभाएका छन् । तर , कावासोती आठको प्रगति टोल विकास संस्थाले भने , आफूलाई फरक ढंगले चिनाउने प्रयास गर्दै आएको छ । टोल विकास संस्था नगरपालिका मातहत गठन गरिएपछि टोल विकास संस्थाका सदस्यहरूलाई तालिम प्रदान गरिएको थियो । त्यसबाहेक टोल विकास संस्थालाई अन्य कुनै सुविधा उपलब्ध भने छैन् । तर , प्रगति टोल विकास संस्थाले समुदायमा काम गर्न अरुको मुख ताक्नुभन्दा आफैँबाट सुरुआत गर्नुपर्छ भनेर अघि बढेको छ । प्रगति टोल विकास संस्थाले आफूलाई संस्थागत बनाउन नगरपालिकामा दर्ता गरेर सुरुआत गरेको हो । नगरमा दर्ता गर्ने पहिलो टोल विकास संस्था हो प्रगति टोल विकास । संस्थाको दर्तासँगै यस संस्थाले टोलमा बसोबास गर्ने घरपरिवारको सुखदुःखमा सहभागि हुँदै आएको छ । संस्थाका अध्यक्ष कमल गैह्रेले टोलभित्र पर्ने ७० घरपरिवारमा कोही सुत्केरी भएमा हर्लिक्स लिएर भुट्ने कार्यक्रमको सुरुआत गरेको बताउनुभयो । उहाँले भन्नुभयो – ‘हामी टोलभित्र कसैको मृत्यु भएमा शोक सभा गर्छौ , सुत्केरी भएमा हर्लिक्स लिएर भेट्न जान्छौ । ’ उहाँले थप्नुभयो – ‘यो समुदायमा बसेपछि सबैले गर्ने कृयाकलाप त हो नि भन्ने कुरा पनि आउला तर , यो बजार क्षेत्र हो । यहाँ मानिसहरू निकै व्यस्त हुन्छन् । धेरैजसो आफ्नै काममा व्यस्त हुन्छन् । नभए पनि मोबाइल र प्रविधिले गर्दा ओल्लो पल्लो घर के भइरहेको छ कसैलाई मतलब हुँदैन । यसै कुरालाई ध्यानमा राखेर हामिले यो कार्य थालेका हौँ । ’
बजार क्षेत्रमा बसोबास नगर्नेहरूमा हराउँदै गएको आत्मियता र मानवीय भावनालाई जोगाइराख्नका लागि आफूहरूले विभिन्न कार्यक्रम गर्दै आएको उहाँ बताउनुहुन्छ । ‘बजार भनेको घर नजिक मन टाढा भएको क्षेत्र हो । त्यसैले हामिले सम्बन्ध नजिक राख्न मर्दापर्दा सुखदुःखमा सहभागि हुनुपर्छ भनेर नियमित कार्यक्रम बनाएका हौँ । नियमित रुपमा भेटघाट हुने वातावरण बन्यो भने जसरी पनि सहभागि भईन्छ । जसले गर्दा आत्मियता बढ्छ । ’
आत्मियता बढाउँदै, समाज र टोलको विकासलाई समन्वय गर्दै समाज बलियो बनाउनका लागि पनि यस कार्यक्रमले सहयोग पुगेको उहाँ बताउनुहुन्छ । सुरुका दिनमा टोलभित्र बच्चा जन्मेपछि भेट्न पुग्ने गर्नुभएका टोल विकास संस्थाका सदस्यहरु अहिले भने बच्चाको जन्मदर्ता गरेपछि मात्रै भेट्न पुग्ने गरेको उहाँ बताउनुहुन्छ । जसले गर्दा अभिभावकले समयमै बच्चाको जन्मदर्ता बनाउन बाध्य हुने र बच्चाले समयमै जन्मदर्ता पाउने उहाँको भनाई छ । संस्थाले टोलभित्र रहेका विद्यालय उमेर समुहका बालबालिकालाई शैक्षिक सामाग्री वितररणको कार्यक्रम समेत नियमित रुपमा गर्दै आएको छ । भने , वर्षाको समयमा बाटोघाटोमा झाडी सरसफाई गर्ने , आफ्नो घर अगाडि नियमित रुपमा आफैँ सफा गर्ने , प्रतेक महिनाको अन्तिम शनिबार वैठक बसेर टोलका लागि आवशयक विकासका खाका तयार पर्ने नियमित रुपमा मासिक २० रुपैँया प्रतेक घरधुरीबाट संकलन गर्ने कार्य गर्दै आएको संस्थाका अध्यक्ष गैह्रले बताउनुभयो ।
संस्थाको लागि बजेटको व्यवस्था गर्न टोलभित्र आयोजना हुने भैलो , वनभोज , सास्कृतिक कार्यक्रममबाट संकलन भएको रकमको १० प्रतिशत अनिवार्य टोल विकास संस्थामा लगानी गर्नुपर्ने नियम बनाईएको छ । जसबाट टोल विकास संस्थाले गर्ने कार्यमा खर्च व्यवस्थापन हुँदै आएको छ । अध्यक्ष गैह्र भन्नुहुन्छ – ‘नगरपालिकाले पनि टोल विकास संस्थालाई बलियो बनाउनु पर्छ , निश्चित बजेट दिनुपर्छ । वडामा आउने सानातिना विवाद मिलाउने देखि नागरिकता , जन्मदर्ता , मृत्युदर्ता जस्ता कागजपत्र बनाउदा कुनै समस्या परेमा टोल विकास संस्थासंग समन्वय गरेर राम्ररी जानकारी लिन सक्छ , किनकी टोलभित्र भएका गतिविधीका बारेमा टोल विकास संस्थालाई अवगत हुन्छ । जसबाट समाजलाई सुधार गर्न , विकास गर्न र समुन्नत समाज निर्माण गर्न मदत पुग्छ । ’
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |