२०८० मंसिर १६, शनिबार
कावासोती । नवलपुरको मध्यविन्दु नगरपालिका–३ लेडाहामा व्यवसायिक बयर खेतिको सुरुआत गरिएको छ ।
युवा किसान पदम मोक्तानले यहाँ बयर खेतिको सुरुआत गर्नुभएको हो । जन्मथलो सर्लाही र कर्मघर काठमाण्डौ भएपनि उहाँले नवलपुर आएर कृषि पेशा अंगाल्नुभएको हो । लामो समय विदेशी भूमि मलेसीयामा पसिना बगाउनुभएका मोक्तानले त्यहाँका मृषि फर्महरु अवलोकन गर्ने गर्नुहुन्थ्यो । नयाँ – नयाँ तरीकाले त्यहाँ कृषि गरेको देखेपछि उहाँमा नेपाल आएर अन्यले भन्दा फरक काम गर्ने सोँच पलायो । जसको फल स्वरुप उहाँले बयर खेति गर्ने सोँच बनाउनुभयो । उहाँले सोँचेको कुरा सफल समेत भएको छ ।
उहाँले ३ विघा क्षेत्रफल लिजमा लिएर बयर खेति र अन्य फलफूल तथा तरकारी खेति समेत गर्नुभएको छ । डेढ विघा क्षेत्रफलमा उहाँले विभिन्न चार जातको बयर खेति गर्नुभएको छ । उहाँको फर्ममा अहिले १२ सय बयरको बोट छन् । पश्चिम बङ्गालबाट उहाँले बयरको बीरुवा ल्याउनुभएको हो ।
उहाँले दुई वर्षअघिदेखि बयर खेतिको सुरुआत गर्नुभएको हो । पहिलो वर्ष थोरै बोट ( ३०० ) रोपेकाले उत्पादन पनि थोरै भयो । दोश्रो वर्ष ( यस वर्ष ) भने बयर लटरम्म फलेको छ ।
उहाँले ग्रिन एप्पल २०० सय बोट , रेड एप्पल चक्लेटी आकार ३०० , रेड एप्पल लङ्ग ( लामो चुच्चो ) ५०० र सुन्दरी ( स्थानीय जात ) २०० बोट लगाउनुभएको छ । यी चार जातमध्ये ग्रिन एप्पल पाकेर बिक्री समेत भईसकेको छ । यो जात माघ १५ बाट पाक्न सुरु हुने भएकाले उहाँले बिक्रि गरेर सकिसक्नुभएको छ । थोरै मात्रै बाँकी छ । ग्रिन एप्पल ३ क्वीन्टल बिक्री गरिसकेको र १२० रुपैँया प्रतिकेजी थोक मुल्यमा बिक्री गरेको उहाँले बताउनुभयो । अन्य जातका बयर पनि अब क्रमशः पाक्दै जाने उहाँले बताउनुभयो । यस वर्ष कम्तिमा बाह्रदेखि १५ लाखसम्म बिक्रि हुने अनुमान उहाँको छ । जसमध्ये आठदेखि १० लाखसम्म नाफा हुने उहाँको भनाई छ । बयर खेतिमा लगानी कम लाग्ने तर नाफा बढी हुने उहाँले बताउनुभयो । पहिलो र दोश्रो वर्षमा लगानी केहि बढि लाग्ने तेश्रो वर्षपछि लगानी कम लाग्ने उहाँको भनाई छ । बीरुवा दिने व्यापारीले एक वर्ष रोपेपछि १० वर्षसम्म फल दिने जानकारी गराएको उहाँले बताउनुभयो । एउटा बीरुवाको २०० देखि २५० रुपैँया लगानी गरेको उहाँले जानकारी दिनुभयो ।
बयरको मुख्य बजार नवलपुरको बजार क्षेत्र र काठमाण्डौ , पोखरा , बुटवल हो । काठमाण्डौको भाटभटेनी जस्ता ठूला मार्केटले समेत आफुसंग माग गरेको उहाँले बताउनुभयो । तर , अन्य बजारमा नै खपत धेरै भएकाले पठाउन नसकेको उहाँको भनाई छ । बयर खरीद गर्न व्यापारी आफैँले सम्पर्क गर्ने गर्छन् । कन्ट्क्टमै व्यापारीकोमा उहाँले बयर पठाउनुहुन्छ । व्यापारीले पैसा खातामा राख्दिन्छन् । बजारको कुनै समस्या नरहेको उहाँले बताउनुभयो । माग पु¥याउन नै गाह्रो भएको उहाँ बताउनुहुन्छ ।
बयर खेतिमा मेहेनत समेत धेरै नलाग्ने उहाँ बताउनुहुन्छ । सुरुमा बीरुवा रोपेपछि बीरुवाको वरीपरी गोडमेल गर्ने , वर्षमा दुई पटक मलजल गर्ने र फुल लाग्दा औषधी राख्ने अन्य समयमा औषधी राख्नु नपर्ने उहाँको भनाई छ । बयर बहुवर्षे बाली भएकाले वर्षको एक पटक फल्छ । बयरका लागि गर्मी मौसम उपयुक्त हुने र बलौटे माटोमा समेत राम्रो हुने उहाँको भनाई छ । उहाँले खेति गरेको क्षेत्र मध्यवर्ती र नारायणी नदी किनार भएकाले बलौटे माटो छ ।
चितवन राष्ट्रिय निकुञ्ज , मध्यवर्ती क्षेत्रमा बयर खेति गर्दा जंगली जनावारले खाने समस्या पनि नहुने उहाँको भनाई छ । अन्य बाली गैंडा , मयुर , बदेँल , मृग लगायतका जनावारले खाएर नोक्सान पु¥याउने गरेको छ । तर , बयर भने नखाने उहाँले जानकारी दिनुभयो । बयर खेतिको अन्य फाईदा पनि रहेको उहाँ बताउनुहुन्छ । ‘एक पटक फल दिएपछि फेदभन्दा केहि माथीबाट ती सबै हाँगा काट्नुपर्ने हुन्छ , एक वर्षभित्र नयाँ हाँगा पलाएर फेरी फल लाग्छ । यो वर्षै पिछे गर्नुपर्छ । ’ उहाँले थप्नुभयो – ‘हाँगाबाट दाउरा , झेक्रा बनाउन सकिन्छ , पात गाईवस्तुले खान्छ । ’
नवलपुर जिल्लामा पहिलो पटक बयर खेतिको सुरुआत आफुले गरेको किसान मोक्तानको दावी समेत छ । उहाँले बयर संगै अहिले कुरीलो खेति , अम्बा खेति , करेला र भिन्डी समेत लगाउनुभएको छ ।
मेहेनत गर्ने हो भने आफ्नै भूमिमा पनि राम्रो आम्दानी गर्न सकिने उहाँले अनुभव सुनाउनुभयो । अर्काको देशमा बगाउने पसिना स्वदेशमै बगाउँदा त्यहा कमाएभन्दा बढि कमाउन सकिने उहाँ बताउनुहुन्छ । उहाँले अहिले १० जनालाई रोजगारी समेत दिनुभएको छ । परिवारमा श्रीमती र छोराछोरीले समेत उहाँलाई साथ दिनुभएको छ । उहाँ आफैँ समेत उत्पादन भएको कृषि उपज बिक्रि गर्न हिड्नुहुन्छ । काम कुनै पनि ठूलोसानो नहुने उहाँ बताउनुहुन्छ । बयरको माग बजारमा राम्रो रहेकाले अन्य कृषक पनि यो व्यवसाय गर्न खोजे सहयोग गर्न तयार रहेको उहाँले बताउनुभएको छ ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |