२०८० मंसिर २४, आईतबार
हुप्सेकोट ।नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको हुप्सेकोट गाउँपालिका –५, का पहिरो पीडित चिसो मौसममा पाल मुन बसेर रात काट्न बाध्य भएका छन् । गएको साउनमा वाखखोर गाउँ पहिरोको जोखिममा परेपछि प्रहरीले उद्धार गरि हुप्सेकोटको बेलुवा स्थित विद्यालयमा राखिएको थियो ।
करिब तीन महिना विद्यालयमा बिताएका १८ घर परिवारको अहिले भने विचल्ली भएको छ । विद्यालयमा पढाइ सुरु भएसँगै बेलुवा स्थित खोला छेउको बसपार्क निर्माण स्थलमा टेन्टको टहरोमा बसेको पनि तीन महिना पुग्न थालेको छ । साउनको महिनाको पहिलो दिन पहिरोले बसेको गाउँनै चिरा पर्न थालेपछि प्रहरीले उनीहरूको उद्धार गरेको थियो । पहिरोबाट विस्थापित तीन परिवार नजिकैको विद्यालयमा छन्, दुई परिवार वडा नम्बर १ कार्यालय परिसरमा रहेका छन् । १३ घर परिवारका लागि टेन्ट बनाइएको छ । पीडित परिवारको पिडा खपी नसक्नु रहेको छ । पुस महिनाको चिसो सिरेटो र शीतलहर पाल मुनी बसेर पहिरो पीडित परिवारले झेलिरहेका छन् । १८ घर परिवारका १ सय २८ जना लामो समयसम्म बासको उचित व्यवस्थापन नहुँदा समस्यामा रहेका छन् ।
६ रोपनी जग्गा र घर भएको तम बहादुर रानाको बास टेन्टमा पुगेको छ । उहाँको परिवारका ८ जना सदस्य अहिले सानो टेन्ट भित्र अटाएका छन् । तब बहादुरका सामु टेन्ट भन्दा अर्को विकल्प छैन् । तर चिसो मौसममा टेण्ट मुन रात काट्न भने समस्या रहेको उहाँले सुनाउनुभयो । ‘घर फर्किऔँ भत्किएको छ, जोत्ने जमिनमा धजा फाटेको छ, यहाँ रात काट्न पनि ग्राहो छ’ तम बहादुरले आँखामा आँशु लुकाउदै भन्नुभयो ‘राति सुत्दा आँखा ,अनुहारमा शीत चुहिन्छ, तर बाध्यता यस्तो छ, हामीसँग विकल्प छैन’।
चिसो मौसममा टेन्टमा बास बस्नु पीडादायी भएको मीन बहादुर सोमैले गुनासो गर्नुभयो । बालबच्चा सहित एउटै टेण्टमा रात काट्नुपर्ने अवस्था रहेको बताउनुभयो । चिसोका कारण साना बालबालिका बिरामी पर्लान कि भन्ने चिन्ता पनि सँगै छ । ‘चिसो छ, बालबच्चा छन्, बिरामी पर्लान कि भन्ने पिर, एउटै टेन्ट भित्र बस्नुपरेको छ’ यो भन्दा पिडा र दुख पनि केही हुन्छ र ? ’आँखाको डिलमा आँशुका ढिक्कालाई रोक्दै मलिन हुँदै सोमैले भन्नुभयो ‘कहिले टेण्टको बासबाट मुक्ति पाइएला खै ?’।
पहिरोबाट विस्तापितहरु मा आफ्ना सबै जायजेथा छोडेर हिँड्नुपर्दा दैनिक छाक टार्न समेत अर्को समस्या पर्ने गरेको छ । विभिन्न समयमा प्राप्त राहातका भरमा चुलो बालिरहेका छन् । ‘काम गरौं खेत छैन्, गाइ ,बाख्रा गाउँछाडेपछि यसै बेचेर हिड्यौं, यहाँ अरु काम पाइदैन, दैनिक गुजारा चलाउन समेत मुस्किल भएको छ’ पे्रम बहादुर बाह्रघरेले भन्नुभयो । उमेरले ३२ पुग्नुभएका उहाँ गाउँमा केही गर्छुभनेर बाख्रा पालन सुरु गर्नुभएको थियो । पहिरोले गाउँनै छोड्न परेपछि पालेका करिब ५० वटा बाख्रा सस्तोमा बेचर हिँडेको उहाँले बताउनुभयो । ‘केही गर्छु भनेर बाख्रा पालन सुरु गरे, कस्लाई के थाहा पुर्खौ देखि आफ्नो बाजेहरु बसेको गाउँनै छाड्नुपर्छ भनेर’ बाह्रघरेले भन्नुभयो–‘अहिले यहाँ एउटा कुखुरा पाल्ने ठाउँ छैन, के गरि गुजारा चलाउन चिन्ता छ’ ।
पहिरो पीडित परिवारलाई जुकेपानी स्थीत शिवालय सामुदायिक वनसंग जोडिएको सार्वजनिक जग्गामा टिनको अस्थाई टहरा निर्माण गरेर व्यवस्थापन गर्न काम सुरु गरिएको छ । पहिरोबाट पिडितहरुको व्यवस्थापनकालागि टहरो निर्माणको काम चलिरहेको हुप्सेकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पवन अर्यालले बताउनुभयो । जाडो मौसम सुरु हुनु पूर्वनै सार्ने भनिएको भएपनि बिबिध कारणले ढिला भएको र अब चाँडै टेन्टबाट टहरोमा सारिने उहाँले बताउनुभयो ।
गाउँपालिका अध्यक्ष लक्ष्मि पाण्डेले गाउँपालिकाले पहिरोबाट विस्तापितको व्यवस्थापनमा सक्दो लागेको भएपनि गाउँपालिकाले गर्ने के र माथिल्लो सरकारले के गर्ने भन्ने स्पस्ट नभएको बताउनुभयो । ‘पहिला कुरा त विपद्मा परेर विस्थापित हुनेको हेर्ने निकाय कुन रहेछ किलियर हुनुपर्यो,हामिले मात्रै बलगरेका छौं, गाउँपालिकाले हेरेन रे, यो भन्दा हेर्ने ठाउँ छैन्’ अध्यक्ष पाण्डेले भन्नुभयो‘गाउँपालिकाका योजना डाइभर्ट गरेर ,विपद् कोषमा ल्याएर व्यवस्थापन गरिरहेका छौँ’।
गाउँपालिका र केन्द्र सरकार मध्य विस्थापितलाई कस्ले पीडितको स्थायी व्यवस्थापन गर्ने भनेर अन्योलमा ६ महिना बितेका छन् । तर पनि पुसको जाडो मौसममा टेन्ट भित्र शित र चिसो सिरेटोसँग लुकामारी गर्दै रात काटेका पिडितहरुलाई फागुन चैतको हावाहुरी अगावै टिनको टहरोमा सरिन्छ कि भन्ने आस भने बाँकीनै छ ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |