२०८० आश्विन १२, शुक्रबार
कावासोती । आफ्नै गतिमा गुडिरहेको सार्वजनिक सवारीलाई एक्कासि ट्राफिक प्रहरीले रोक्यो । पूर्वबाट पश्चिम हिँडेको तीनचार वटा बस थिए । ती सबै रोकिए । प्रहरीले चालक सहचालक सहित सबै यात्रुलाई बसबाट उत्रन भने । प्रहरीले उत्रन भन्ने बित्तिकै बसमा सवार केही यात्रुहरू आक्रोशित हुँदै थिए । ‘ किन रोकेको होला, काम नपाएर ? हतार भएको बेलामा अनाहक दुःख दिने , गर्ने केही होइन् पैसा खान त होला ? ’ यस्तै यस्तै कुरा एकआपसमा गर्दै थिए । कतिपय यात्रु सवारीबाट उत्रन पनि खोजेका थिएनन् । तर प्रहरीले पटक – पटक उत्रन आग्रह गरेपछि बसमा सवार सबै यात्रु उत्रिए । यात्रु उत्रिएपछि सबैलाई एकै ठाउँमा भेला गराउँदै प्रहरीले नमस्कार गर्दै आफ्ना कुरा राख्न थाले । यो दृष्य थियो नवलपरासी पूर्वको पूर्वपश्चिम राजमार्गको दाउन्नेको पहाडको ।
बसबाट उत्रन पनि नखोजेका यात्रु प्रहरीको कुरा सुनेर भने, राम्रो काम भन्दै प्रशंसा गर्दै थिए । दाउन्ने स्थित ट्राफिक पोस्टका ट्राफिक प्रहरी कृष्ण पोख्रेलले यात्रुलाई सर्वप्रथम नमस्कार गर्दै सोध्नुभयो । तपाईँहरूलाई यात्राको क्रममा कुनै समस्या भएको छ ? भाडा बढि लिएको , तीब्र गतिमा हाँकेको वा दुर्व्यवहार भएको छ ? भन्दै प्रश्न गर्नुभयो । यात्रुहरूले अहिले चढेर आएको बसले त्यस्तो व्यवहार गरेको छैन् । तर कतिपय बेलामा गर्छन् भनेर जवाफ दिनुभयो । प्रहरीका कुरा सुनेर यात्रुहरू भन्दैथिए – ‘ यो काम राम्रो हो । समय समयमा यसरी जाँच गर्नुपर्छ , कतिपयले त मनपरी भाडा लिन्छन् जथाभावी यात्रु कोच्छन्’ । यात्रुहरू आपसमा कुरा गर्दै थिए ।
यात्राका क्रममा हुने विभिन्न नकारात्मक पक्षलाई सुधार गर्दै सुरक्षित र मर्यादित यात्रा सँगै ट्राफिक प्रहरी र सर्वसाधारण नागरिक तथा चालक बीचको सम्बन्धलाई सौहार्द्रपूर्ण बनाउन गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालयको निर्देशनमा सञ्चालित ‘नमस्ते अभियान’ अन्तरगत पूर्वी नवलपरासीमा पनि ट्राफिक प्रहरीले यस अभियानलाई निरन्तरता दिएको छ । अभियान अन्तरगत प्रहरीले सर्वप्रथम नमस्ते भन्दै नम्र रुपमा सचेतना मूलक जानकारी प्रदान गर्ने गर्दछन् । चालकसँग हुनुपर्ने कागजात जाँच गर्ने र यात्रुसँग यात्राका क्रममा कुनै अप्ठेरो परेको छ की ? भनेर सोधपुछ गर्ने त्यस्तो पाइएमा कारवाही गर्ने काम हुँदै आएको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रमुख नारायण थापाले बताउनुभयो । सुरक्षित र मर्यादित यात्राका लागि यो अभियान सञ्चालन गरिएको थापाले बताउनुभयो ।
जिल्लाका विभिन्न बजार क्षेत्र तथा जङ्गल क्षेत्र, पहाडी क्षेत्रमा समेत प्रहरीले समय समयमा यो अभियान गरिरहेको उहाँको भनाई छ । पायक पर्ने प्रहरी कार्यालयबाट टोली खटिएर अभियानलाई निरन्तरता दिदैँ आएको उहाँले बताउनुभयो । अभियानबाट ट्राफिक नियम पालना गराउन र सवारी दुर्घटना न्युनिकरण गर्ने उदेश्य समेत लिएको उहाँले बताउनुभयो । ‘घरमा परिवारको होलान कति ईच्छा , सुरक्षित गन्तव्य हाम्रो अपेक्षा ’, ‘ट्राफिक नियमको नमाने भारी , सजिलै चल्छ सडकमा सवारी ’भन्ने स्लोगन सहित अभियानलाई निरन्तरता दिएको थापाको भनाई छ । उहाँले यस अभियानलाई सफल बनाउन सबैको साथ र सहयोग आवश्यक रहेको समेत बताउनुभएको छ ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |