२०८० आश्विन १२, शुक्रबार
कावासोती । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको महत्वकाङ्क्षी योजनाको रुपमा रहेको नमूना सदरमुकाममा बाटो निर्माणको काम ६० प्रतिशत सम्पन्न भएको छ । यसै गरि नमूना सदरमुकाममा बन्ने सरकारी कार्यालयको डिजाइन बनाउने लगायतको प्रक्रिया समेत अगाडि बढेको छ ।
जिल्लाको कावासोती नगरपालिका –३, मा रहेको एक सय ८७ बिघा क्षेत्रफलमा सबै सरकारी कार्यालय एकीकृत रुपमा रहने गरि नमूना सदरमुकाम निर्माणको योजना अगाडि बढि रहेको छ । जस अन्र्तगत अहिले पहिलो चरणमा सदरमुकाम क्षेत्र भित्र पहुँचमार्ग निर्माणका लागि काम भइरहेको छ । ६ किलोमिटर लम्बाइको बाटोहरू निर्माण कार्य यतिबेला चलिरहेको छ ।
५० , ३० र २० मिटर चौडाइका मुख्य तथा शाखा सडकहरू निर्माणको काम ६० प्रतिशत सम्पन्न भएको नमूना सदरमुकाम निर्माण कार्य हेरिरहेको सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालय चितवनका आयोजना प्रमुख प्रकाश अर्यालले बताउनुभयो । रु. ११ करोडको ठेक्का सम्झौता भएर अहिले बाटो निर्माणको काम सञ्चालनमा रहेको आयोजना प्रमुख अर्यालले बताउनुभयो । पहिलो चरणमा बाटो ग्राभेल गर्ने र अर्को ठेक्का निकाली कालोपत्रे गर्ने योजना रहेको उहाँले बताउनुभयो ।
सदरमुकाम क्षेत्रमा बाटो निर्माणको काम चलिरहँदा केही भवनको डिजाइन समेत तयार भइसकेको आयोजना प्रमुख अर्यालले बताउनुभयो । अति आवश्यक परेका कार्यालयहरू पहिलो चरणमा निर्माण गर्ने गरि डिजाइन तयार पारिएको उहाँले बताउनुभयो । जिल्ला प्रशासन कार्यालय, कोलोनीका , कर कार्यालय लगायतका भवनको डिजाइन लगभग तयार भएको र अब आवश्यक बजेटका लागि अर्थ मन्त्रालयलाई भनी निर्माणको चरणमा जाने आयोजना प्रमुख अर्यालले बताउनुभयो । ‘ जिल्ला प्रशासनको डिजाइन तयार छ ,अरु केही कार्यालयको समेत अन्तिम चरणमा रहेको छ, त्यस पछि आवश्यक श्रोत सुनिश्चित गरि भवन निर्माणको कार्य अगाडि बढाइहाल्छौँ’ आयोजना प्रमुख अर्यालले भन्नुभयो ।
नमूना सदरमुकाम निर्माण स्थलमा संघ ,प्रदेश र स्थानीय तहका कार्यालयहरू निर्माण हुनेछन् । हाल संघ मातहतका १६, प्रदेश मातहतका ११ कार्यालयहरू निर्माण गर्ने गरि गुरुयोजना तयार पारिएको छ ।
सदरमुकाम निर्माण स्थलमा पुस्तकालय, सभाहल, बैंक, अतिथि गृह, आवास गृह, रङ्गशाला , सूचना केन्द्र, प्रहरी तालिम केन्द्र, पार्क लगायतका संरचनाहरू समेत निर्माण हुनेछन् । नमूना सदरमुकाम निर्माणको गुरु योजना अनुसार करिब रु. १६ अर्ब लागत लाग्ने अनुमान गरिएको छ ।
नमूना सदरमुकाम निर्माणको यस आयोजनाको पूर्व प्रधानमन्त्री के.पी. शर्मा ओलीले २०७६ बैशाख ७ गते शिलान्यास गर्नुभएको थियो । शिलान्यासको डेढ वर्ष पछि मात्रै सदरमुकाम निर्माणको प्रारम्भिक चरणका काम अगाडि बढेको थियो । अहिले कामले केही गति लिएको प्रमुख जिल्ला अधिकारी मनमाया पँगेनीले बताउनुभयो ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |