२०८० आश्विन १४, आईतबार
कावासोती । पछिल्लो केही वर्षयता मह उत्पादनमा कमि आउन थालेपछि मौरी पालक किसान चिन्तित बनेका छन् ।
पछिल्लो तिन वर्ष यता मह उत्पादन ह्वात्तै घटेको नवलपुरका किसानको भनाई छ । मह राम्रो उत्पादन हुने समयमा नै मह उत्पादनमा ह्रास आएपछि मर्कामा परेको किसानको गुनासो छ ।
कावासोतीमा विगत २० वर्षबाट मौरीपालन व्यवसाय गर्दै आउनुभएका चण्डीका लामिछानेका अनुसार विगत केही वर्षबाट महको उत्पादनमा निकै ह्रास आएको छ । नेपाल मौरी पालक किसान महासंघ गण्डकी प्रदेशका वरिष्ठ उपाध्यक्ष समेत रहनुभएका किसान लामिछाने विगत तीन वर्ष यता त मह उत्पादनमा पचास प्रतिशतजति नै ह्रास आएको बताउनुहुन्छ ।
लामिछानेका अनुसार मह उत्पादनमा ह्रास आउनुको धेरै कारण छन् । जसमध्ये प्रमुख कारण भनेको पछिल्लो समय कृषिमा प्रयोग हुने आधुनिक उपकरण र विषादी हो । पहिले खेती लगाउँदा एउटै सिजनमा पनि धेरैथरीका बाली लगाउने प्रचलन थियो । गहुँमा पनि तोरा , छर्ने , मसुरो तोरी संगै छर्ने गरिन्थ्यो । आलस तोरी पनि संगै छरिन्थ्यो । यसरी छर्दा एकै पटकमा बाली स्याहार्न मिल्थेन । एकथरी स्याहारेर अर्को हुन्थ्यो , । जसले गर्दा फूल फुल्ने समय फरक फरक हुन्थ्यो । मौरीले लामो समयसम्म फूलको रस पाउथेँ र मह पनि उत्पादन राम्रो थियो । तर , अहिले आधुनिक उपकरणको प्रयोगले किसानले यसरी बाली लगाउन छाडे , प्राय एउटै बाली लगाउछन् । मेसीनबाट बाली स्याहार्दा धेरै बाली स्याहार्न मिल्दैन् । त्यसैले एकै पटक लगाउने र एकै पटक स्याहार्ने गर्दा मौरीले फूलको रस निश्चित समयसम्म मात्रै पाउछन् । जसका कारण मह उत्पादनमा ह्रास आएको लामिछाने बताउनुहुन्छ । अर्को विषदीको बढ्दो प्रयोग । विषादीयुक्त बालीबाट मौरीले फूलको रस लिदा मौरीको मृत्यु हुने, रोगी हुने समस्याले गर्दा मह उत्पादन घटेको उहाँ बताउनुहुन्छ ।
लामिछानेले २०५८ सालमा पाँच गोला ( घार ) बाट मौरी पालन व्यवसाय सुरु गर्नुभएको हो । उहाँसंग अहिले ३ सय घार मौरी छन् । चारजनालाई रोजगारी समेत दिनुभएको छ । आठदश वर्ष अघिसम्म एक घारमा पचाससाठी केजीसम्म मह उत्पादन हुने गरेको अनुभव उहँँलाई छ । तर, अहिले ह्वात्तै घटेको छ । अहिले एक घारमा पाँचदश केजी पनि मुस्किल पर्न थालेको उहाँले बताउनुभयो ।
लामो समयदेखि मौरी पालनमा आबद्ध भएकाले लामिछानेसंग विगतदेखी अहिलेसम्मका धेरै अनुभव छन् । पछिल्लो केही वर्ष यता नेपालमा आधुनिकताको हावी भएपछि धेरै रैथाने बोट बिरुवा र वाली लोप भएका छन् । भने , कतिपय लोप हुने अवस्थामा छन् । मह उत्पादनमा टेवा पु¥याउने त्यस्ता बोट बिरुवा लोप हुँदै जाँदा मौरी पालक किसान धेरै मारमा परेको उहाँको अनुभव छ । उहाँ भन्नुहुन्छ । ‘रुदिलो , फापर, फिलिङ्गे , सिलाम , सूर्यमुखी , धनीया , ज्वानो , मेथी , चिउरी जस्ता मौरीले रस पाउने बोट बिरुवा लोप हुने , खेती गर्न छाड्ने गरेका कारण मह उत्पादन घट्दो छ । ’ विषेश गरेर तोरी खेतीमै मात्रै पछिल्लो समय मौरी पालक किसान निर्भर हुनु परेको छ । तोरी हिउँद महिनाको निश्चित समय कात्तिक, मंसिर र पुस महिनामा मात्रै हुने हुँदा किसान तोरीको फूलमा एक सिजन मात्रै भर पर्नु परेको छ । ‘तोरी बाहेकका अन्य हाम्रा रैथाने बोट बिरुवा अन्य सिजनमा पनि फूल्ने गर्छन् । तर , ती बोटबिरुवाको खेती हुनै छाड्यो । भएका पनि मासिन थाले त्यसैले अन्य सिजनमा चिनीमा भर पर्नुपर्ने अवस्था आयो । ’ लामिछानेले भन्नुभयो । चिनी महङ्गो पर्ने हुँदा कतिपय किसानले मह नै उत्पादन गर्दैनन् ।
देवचुलीका अर्का किसान राजेन्द्र रावलको गुनासो पनि उस्तै छ । विगत २५ वर्षदेखि देवचुली ९ विशालटारमा मौरीपालन व्यवसाय गर्दै आउनुभएका रावलले एउटा घारबाट सुरु गरेको व्यवसाय अहिले एक सय घार पुगेको छ । सुरुआतका दिनमा ४० देखि ६० केजीसम्म एउटा घारबाट मह उत्पादन हुने गरेको बताउनुहुन्छ उहाँ । विगत केही वर्षबाट मह उत्पादनमा ह्रास हुँदै गयो । तर, यस वर्ष मह उत्पादनमा सोच्दै नसोचेको ह्रास आएको उहाँ बताउनुहुन्छ ।
नवलपरासी पूर्व नवलपुर र पश्चिम नवलपरासी तथा चितवनका किसानको मुख्य चरण क्षेत्र भनेको दाङ र प्युठान हो । दाङमा असोज महिनामा नै तोरी फूल्छ । प्युठानमा चिउरी फूल्छ । तोरी र चिउरीको फूलमा मौरीको चरण राम्रो हुने भएकाले यहाँका किसान मौरी चराउन त्यहा पुग्छन् । तर , यस वर्ष वैमौसममा भएको अत्याधीक वर्षाले चिउरीको फूलमा पनि क्षती पुग्यो भने, जमिन चिसो हुँदा किसानले समयमै तोरी छर्न पाएनन् । छरेको तोरीमा पनि वर्षाले नोक्सान ग¥यो । त्यसैले यस वर्ष मह उत्पादन निकै कम भएको रावलको भनाई छ । उहाँ भन्नुहुन्छ – ‘तिनचारवर्ष अगिसम्म एक घारमा पचासछाठी केजीबाट घटेर पच्चीसतिस केजीसम्म झरेको थियो । तर , अहिले केही किसानको एउटा घरमा तिनचार केजी मात्रै मह उत्पादन भएको छ । यो निकै दुःखको कुरा हो । यसरी नै मह उत्पादन घट्दै जाने हो भने मौरी पालन किसान धरासायी बन्छन् । ’
नेपाल मौरीपालक महासंघ नवलपुरका अध्यक्ष यदुनाथ कंडेलका अनुसार नवलपुरमा मात्रै करीब २ सय किसान मौरीपालनमा लागेका छन् । थोरै लगानी र कम मेहेनत पर्ने भएकाले यस व्यवसायमा किसानको आकर्षण बढेको छ । तर , विभिन्न समस्याबाट मौरी पालक किसान गुज्रनुपरेको उहाँले बताउनुभयो । जलवायु परिवर्तन , चरण क्षेत्रको अभाव , तोरी छर्ने कतिपय किसानमा जनचेतनाको अभावले गर्दा चरणमा अवरोध पु¥याउने , थोरै घार मौरी भएका किसानले धेरै चरण क्षेत्र ओगट्ने जस्ता समस्याले मह उत्पादनमा क्रमिक रुपमा ह्रास हुँदै गएको उहाँ भन्नुहुन्छ ।
कोभिड संक्रमणपछि महको माग ह्वात्तै बढेको छ । बजारको माग धान्नै नसक्ने अवस्थामा रहेको किसानहरु बताउँछन् । माग अनुसारको पूर्ती गर्नै गाह्रो भएको किसान रावल बताउनुहुन्छ । नियमित रुपमा मह खरीद गर्ने ग्राहकलाई समेत फर्काउनु परेको उहाँले बताउनुभयो । माग अनुसार किसानले आपुर्ती गर्न नसक्दा अहिले बजारमा भारतबाट गुरस्तरहीन ( नक्कली महको ) कारोवार गर्नेहरुले अवसर पाएको उहाँको भनाई छ । केमिकल मिसाएर शुद्ध महको जस्तै वास्ना आउने बनाउने , जसले गर्दा उपभोक्ताले पनि छुट्याउन नसक्दा उपभोक्ताहरुको स्वास्थ्यमा समेत असर पर्ने रावलले बताउनुभयो ।
मौरी पालनमा देखिएका सबै समस्यालाई समाधान गर्दै नीतिगत रुपमा चरिचरणको उचित व्यवस्थापन , वालीमा विविधीकरण , वास्तविक किसानमुखी अनुदान , सहुलियत , विमा र जनचेतनाका कार्यक्रम सरकारबाट हुन सकेमा मात्रै मौरी पालन किसान लाभान्वित हुनुका साथै महको उत्पादनमा बृद्धि गर्न सकिने किसान लामिछानेको भनाई छ ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |