२०८० आश्विन ५, शुक्रबार
विषय प्रवेश
सम्पूर्ण भोजनहरुलाई छाडेर केवल स्वच्छ पानी आवश्यकता अनुसार पिएर केही समय वा केही दिनसम्म आरामपूर्वक आफ्नो नजिक रहनुलाई उपवास भनिन्छ । खान नपाएर हुने भुखमरी र स्वेच्छाले खान छाड्ने उपवासमा फरक छ– त्यो के भने यदि व्यक्ति भुखमरीमा परेको छ भने एकातर्फ ऊ शारीरिक तथा मानसिक रुपमा तनावले भरिएको हुन्छ भने अर्कातर्फ शरीर भित्र रहेको विभिन्न मल निष्कासनका लागि कुनै विधि नअपनाउनाले उसको शरीरमा विजातीय तत्व जम्मा भएर बसिरहन्छ । ती तत्वबाट उल्टै विषालु तत्व उत्पन्न हुनथाल्छन् र व्यक्ति छिटो मर्न सक्छ । तर उपवासमा व्यक्तिमा कुनै तनाव नभई आफू स्वस्थ हुन लागेको सम्झी मानसिक रुपमा प्रफुल्ल हुन्छ र शरीरभित्र संकलित मल विभिन्न विधिहरु अपनाई बाहिर फ्याँकिन्छ जसले गर्दा शारीरिक तथा मानसिक स्फूर्ति प्राप्त हुन्छ ।
उपवास बस्दा के हुन्छ ?
उपवास बस्नु भनेको स्व–इच्छाले केही नखाएर वा पानी मात्र पिएर पाचन प्रणालीलाई आराम दिने प्रक्रिया वा शरीर शुद्ध पार्ने प्रक्रिया हो । उपवास बसेको बेला शरीर खाना पचाउने कामबाट मुक्त हुन्छ र शरीरलाई यही मौका छोपेर शुद्ध गर्नतर्फ लाग्छ । निरन्तर खाना खाइरहेको बखत शरीरले पूर्ण शुद्ध पार्न सकिरहेको हुँदैन र विकारहरु जम्मा भइरहने सम्भावना हुनेहुँदा उपवास बसेको बखत सबै विकारहरु नष्ट गर्ने अवस्था आउँछ । उपवास बस्दा एक घण्टामा एक गिलासका दरले पानी पिउने, सादा पानीमा मात्र बस्न नसके कागती मह, अमला पानी वा सुन्तलाको रस पिएर बस्ने, त्यसमा पनि बस्न नसके फलफूलहरु खाएर बस्ने र उपवास हप्ताको एकदिन बस्ने, सक्दै नसके कम्तीमा १५ दिनमा एकपटक बस्दा राम्रो हुन्छ । उपवासले शरीर शुद्ध बनाउँछ, पाचन अंगहरुलाई आराम दिन्छ, तौल घटाउन मद्धत गर्छ, असामान्य जैविक क्रियालाई पुनः सामान्य र ताजगी बनाउँछ र रोग प्रतिरोधात्मक क्षमता समेत बढाउँछ ।
उपवास बस्नाले पाचन प्रणालीका आमाशय, भोजननली, कलेजो, प्यांक्रियाज आदिलाई विश्राम मिल्छ र शरीरले अन्य भागको शुद्धिकरण गर्नथाल्छ । शारीरिक, मानसिक तथा आध्यात्मिक लाभका लागि उपवास गर्नाले शरीरमा रोग प्रतिरोधात्मक क्षमता समेत बढ्छ । पेट अन्नले भरिएको समयमा रक्तसंचार अत्यधिक रुपमा पेटतर्फ नै हुने र शरीरका अरु भागलाई रक्तसंचारले त्यति प्राथमिकता नदिने भएकोले मस्तिष्क लगायत शरीरका सबै अंगहरुमा ऊर्जा कम हुन्छ । तर उपवासको समयमा रगतमा चिनीको मात्रा कम हुन्छ वा सन्तुलित हुन्छ, पेटको अनावश्यक भार कम हुँदा रक्तसंचार शरीरका सबै अंगहरुमा हुनपुग्छ र शरीर शुद्ध हुन्छ । उपवासका समयमा सात्विक आहारको प्रयोग हुँदा मन पनि सात्विक हुन्छ । यसका साथै मानसिक दुर्बलता, डिप्रेशन, चिन्ता आदि जस्ता रोगहरु पनि उपवासबाट साम्य हुन्छन् र व्यक्तिमा नवीनता, स्फूर्ति र आनन्दको महसुस् हुनथाल्छ ।
वास्तवमा हामीले खाना खाएको केही घण्टादेखि पाचन भएर खानाबाट पौष्टिक तत्व अवशोषण भई रगतमा जान्छ । यस अवस्थामा रगतमा सुगरको तह उच्च हुन्छ र ईन्सुलिनको उत्पादन अधिकतम हुन्छ जसले रगतमा भएको सुगरलाई कोषसम्म पु¥याउने काम गर्छ । बाँकी बढी भएको सुगर कलेजो र मांसपेशीमा ग्लाइकोजिनको रुपमा संचित हुन्छ र शरीरलाई सुगर आवश्यक भएको बेला ग्लाइकोजिनबाट सुगर बनेर आपूर्ति हुन्छ । यसरी खाना खाएको ३÷४ घण्टाको वरपरसम्म प्रारम्भिक उपवासको चरण आउँछ र यो लगभग खाना खाएपछिको १८ घण्टासम्म जारी रहन्छ । यस १८ घण्टासम्मको चरणमा रगतमा सुगर र ईन्सुलिनको तह घट्न थाल्छ किनकि शरीरले ग्लाइकोजिनलाई ग्लुकोजमा परिणत गरी शक्तिको लागि प्रयोगमा ल्याउँछ । यो चरणको अन्ततिर कलेजोमा सञ्चित रहेको ग्लाइकोजिनको भण्डार बिस्तारै कम हुनथाल्छ र शरीरले शक्तिको अर्को स्रोतको खोजी गर्न थाल्छ । अनि विशेष प्रक्रियाबाट चिल्लोका कोषहरुबाट ट्राइग्लिसराईड ससाना अणुमा टुक्रिन थाल्छ र शक्तिको वैकल्पिक स्रोतका रुपमा प्रयोग हुनथाल्छ । यसका साथै शरीरले प्रोटिनलाई एमिनो एसिडमा परिणत गरी शक्तिको लागि प्रयोग गर्छ । यो प्रक्रिया सबैभन्दा बढी अनियमित उपवास वा १६÷८ विधि अर्थात १६ घण्टा केही नखाने र ८ घण्टा मात्र खाने विधिमा हुन्छ । यस विधिबाट शरीरमा सञ्चित क्यालोरी समेत खपत भई शारीरिक स्फूर्ति आउने र मोटोपन कम हुने प्रक्रिया शुरु हुन्छ ।
उपवास कसरी बस्ने ?
हाम्रो नेपाली संस्कृतिमा परम्पराकालदेखि उपवास बस्ने चलन चल्दै आएको छ । जानेर वा नजानेर उपवास बस्ने चालचलन अहिले आएर वैज्ञानिक रुपमा राम्रो सावित भएको छ । व्यक्ति शारीरिक र मानसिक रुपमा स्वस्थ रहने हो भने वास्तवमा हप्तामा १ दिन भएपनि उपवास बस्नाले अधिकांश शारीरिक समस्याहरु समाधान भएर जाने परिणाम देखिएको छ । उपवास बस्ने विभिन्न विधिहरु छन् र ती मध्ये आफूलाई जुन विधि बस्दा सहज हुन्छ त्यो विधि अपनाएर भएपनि उपवास बस्ने प्रचलनलाई निरन्तरता दिनु जरुरी छ । अहिले पनि केही व्यक्तिहरु धार्मिक आस्थाका कारण एकादशी, पूर्णिमा, विशेष चाडपर्वहरु वा कुनै बार जस्तो आईतबार, सोमबार, मंगलबार, शनिबार आदि दिनहरुमा उपवास गर्ने गरेको देखिन्छ । जे जसरी उपवास बसे पनि त्यो व्यवहारले शरीरलाई फाईदा पु¥याएकै देखिन्छ । उपवास कसरी बस्न सकिन्छ भन्नेकुरा यस लेखनबाट केही मात्रामा भएपनि बुझ्न सकिने छ ।
उपवासका विभिन्न तरिका मध्ये अनियमित उपबास भन्नाले दिनमा एकपटक मात्र खानु भन्ने बुझिन्छ । यो तौल घटाउने सबैभन्दा राम्रो उपाय हो । दिनमा धेरैपटक खानु, दिनभर खानु, प्रत्येक दिन खाइरहनु भन्दा उपबास बस्नु स्वास्थ्यका लागि राम्रो हुन्छ । अनियमित खालको उपबासले शरीरमा जैविक रसायनबिच समन्वय कायम भई मानसिक, संवेगात्मक र शारीरिक फाईदाहरु पाउन सकिन्छ । उपबाससँगै दिनमा एकपटक वा दुईपटक ध्यानमा बस्न सकेमा थप फाइदाहरु हुन्छन् । यसरी आफूले खाना खाने ढाँचाको साईकलमा खाना खाने र उपवास गर्नेबिचको समयावधिलाई नै वास्तवमा अनियमित उपवास भनिन्छ । यो खालको उपवास बस्ने प्रचलन परम्पराकालदेखि नै चल्दै आएको देखिन्छ र हाल उपवास बस्नेहरुले पनि यो तरिका अपनाउने गरेको पाईन्छ जुन सबैभन्दा राम्रो हुन्छ ।
यदि १८ घण्टापछि २ दिनसम्मको उपवास गरिन्छ भने यस अवस्थामा सञ्चित भएर रहेको ग्लाइकोजिन समाप्त हुन्छ । त्यसपछि शरीरले भण्डार गरेको प्रोटिन र चिल्लो पदार्थ टुक्र्याएर शक्तिको लागि प्रयोग गर्छ । परिणामस्वरुप केटोन बोडिजको उत्पादन हुन्छ । यो त्यस्तो अवस्था हो जहाँ शरीरले चिल्लोलाई ऊर्जाको ईन्धनमा परिणत गर्दाको जटिल उत्पादन हो । यसमा शरीरले केटोसिस् प्रक्रियामा परिणत गरी शक्तिको प्रारम्भिक स्रोतको आपूर्ति गर्दछ । केटोसिस् प्रक्रिया उपवासमा प्रवेश हुनासाथ तुरुन्तै हुने होइन र पछिमात्र हुने प्रक्रिया हो । केटोसिस् अवस्थाका चिन्हहरुमा भोक नलाग्नु, तौल घट्नु, थकाइ लाग्नु, श्वासप्रश्वासमा नराम्रो गन्ध आउनु, रगत, श्वास तथा पिसाबमा केटोन बोडिजको तह बढ्नु आदि देखापर्छन् । यसरी २ दिन वा २४ घण्टासम्म उपवास बसेमा मात्र केटोसिस्को अवस्था आउन सक्छ । तर यसपछि हुने केटोएसिडोसिस्को प्रक्रिया भने निकै खतरनाक अवस्था हो जहाँ रगत अम्लमा परिणत हुन्छ र यो अवस्था प्रायः विभिन्न रोग लाग्दा, संक्रमण हुँदा, मधुमेह रोगको राम्रो व्यवस्थापन गर्न नसक्दा आउन सक्छ ।
यदि यो भन्दा लामो समय वा ४८ घण्टासम्म पनि उपवास बसियो भने त्यो अवस्थालाई लामो समयको उपवास वा भोकमरीको अवस्था भनिन्छ । यतिबेला ईन्सुलिनको तह घटेर केटोन बोडी बढ्न सक्छ । यस अवस्थामा मृगौलाले विशेष प्रक्रियाबाट सुगर बनाउने काम गर्दछ जसले मस्तिष्कलाई मात्र ईन्धन आपूर्ति गर्दछ । सँगसँगै मस्तिष्कलाई बचाउन केटोन बोडिजले समेत काम गर्दछ । यो किसिमको उपवास हानिकारक हुने भएकोले विज्ञसँगको परामर्शबाट मात्र बस्नुपर्छ । त्यस्तै उपवासबाट छुट्ने बित्तिकै कहिल्यै पनि भारी खाना नखाने, कडा खाना नखाने, पिरो चिल्लो नखाने बरु सामान्य लिटो, जाउलो, गिलो खाना र तरल पदार्थ बढी मात्रामा खाने गर्नुपर्छ । त्यसपछि मात्र ठोस खानामा जानुपर्छ ।
उपवास बस्नाले हुने फाइदाहरु
कतिपय अवस्थामा उपवास चिकित्सा विधि पनि अम्लपित्त लगायत अन्य विभिन्न रोगको लागि उपयुक्त हुनसक्छ । उपवास विधिले पित्त दोषबाट उत्पन्न हुने समस्या, आन्द्रासम्बन्धी समस्या, छालाको समस्या, जोर्नी दुखाई, बाथ रोग, दम, कब्जियत, मधुमेह तथा ज्वरोमा पनि फाइदा गर्छ । तर यसको लागि चिकित्सकको परामर्श लिई उपवासका नियमहरु अपनाई गर्न सकिन्छ । अन्यथा झन् खराब अवस्था उत्पन्न हुने सम्भावना पनि हुन्छ । यसका साथै विभिन्न रोगहरुबाट बच्न र बुढ्यौलीमा समेत स्वस्थ देखिन उपवास बस्नु फाइदाजनक हुने विभिन्न अध्ययनहरुको निष्कर्ष रहेको छ । विभिन्न अनुसन्धानका निष्कर्ष अनुसार उपवास बस्नाले शरीरको पाचन प्रक्रियामा सकारात्मक प्रभाव पर्छ र यसले आयुसँग सम्बन्धित रोगलाई समेत टाढा राख्न मद्धत पु¥याउँछ ।
अन्तमा, यी बाहेक उपबास बस्नुका अन्य फाईदाहरु यसप्रकार उल्लेख गर्न सकिन्छ–
उपबास बस्नाले खाना खाने आदत तोडिन्छ अथवा बढी खाना खाइरहँदा हुने असजिलोपन हट्छ ।
खाना खाइरहँदा हुने बढी तौल घटाउन मद्धत पुग्छ ।
उपबास बस्नाले हुनसक्ने सम्भावित स्वास्थ्य समस्याहरु जस्तै ः आमाशयको (हायटल) हर्निया, अम्लपित्त, भोजननलीको सुजन लगायत पाचन प्रणालीका समस्या समाधान हुन्छन् ।
अनियमित उपवासले मधुमेह, उच्च रक्तचाप, गम्भीर खालका छालाका रोगहरु, शारीरिक तथा मानसिक रोगहरु समेत समाधान हुन्छन् ।
शरीरको शुद्धिकरण हुने हुँदा शरीर तरोताजा भइरहन्छ र कुनै विकृति देखापर्दैनन् ।
डिप्रेसन जस्तो समस्या पनि उपबास बस्नाले समाधान हुनसक्छ किनकि उपबासले नरइपिनेफ्रिन हर्मोन बढ्ने र मुड ताजा हुने भएकोले थप ऊर्जा प्राप्त हुन्छ आदि ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |