२०८० आश्विन १४, आईतबार
कावासोती । चालु आर्थिक वर्षका योजना कार्यान्वयन सम्बन्धी अभिमुखीकरण कार्यक्रम पिठौलीमा भएको छ । कावासोती नगरपालिका मातहतका उपभोक्ता समिति मार्फत सञ्चालन गरिने योजना सहज रुपमा कार्यान्वयन गराउन समितिका पदाधिकारी, सदस्यहरूलाई अभिमुखीकरण गरिएको हो । कावासोती नगरपालिका वडा नम्बर ११, १२ र १३ का उपभोक्ता समितिका पदाधिकारी तथा सदस्यहरूलाई अभिमुखीकरण गरिएको हो ।
योजना कार्यान्वयनका क्रममा आउने समस्याको कसरी व्यवस्थापन गर्ने ,प्राविधिक विषयका के कस्ता कुरामा ध्यान दिने देखी योजना सम्पन्न भएर फर्छौट हुँदा सम्म के कस्ता प्रक्रिया रहन्छन् भन्ने विषयमा जानकारी दिने उद्देश्यले अभिमुखीकरण कार्यक्रम गरिएको योजना शाखाका छैठौं अधिकृत दिनेश भण्डारीले बताउनुभयो ।
उपभोक्ताबाट हुने कामको गुणस्तरीयता, प्रभाकारिता लगायत सहज रुपमा योजना सम्पन्न गर्न अभिमुखीकरण कार्यक्रमले सहयोग पुग्ने उहाँले बताउनुभयो ।
अभिमुखीकरण कार्यक्रममा कावासोती नगरपालिकाका आर्किटेक इन्जिनियर पवन रूपाखेतीले प्राविधिक पक्षका विषयमा जानकारी प्रदान गर्नुभएको थियो । योजनाको इस्टमेट बनाउँदा देखिनै समितिले सबै विषयको ख्याल गरे कार्यान्वयनमा समस्या नआउने उहाँले बताउनुभएको थियो ।
यस्तै लेखा शाखाका विनोद सुवेदीले योजना सम्पन्न भएपछि भुक्तानीका समयमा के कस्ता कागजात चाहिन्छ , बिल ,भरपाई के कसरी बनाउनुपर्छ भन्ने विषय लगायतका विषयमा अभिमुखीकरण प्रदान गर्नु भएको थियो ।
अभिमुखीकरण कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि कावासोती नगरपालिका नगर उप प्रमुख पे्रम शंकर मर्दनिया थारुले उपभोक्ता समितिबाट हुने काम गुणस्तरीय हुनुपर्ने बताउनुभयो । उहाँले उपभोक्ता मार्फत गराउने भनिएका काम आन्तरिक रुपमा फेरी छुट्टै ठेकेदारसँग सम्झौता गरि बनाउन दिने परिपाटि रहेको भेटिएकाले यो गलत भएको बताउनुभयो । उहाँले यस्ता कार्यलाई निरुत्साहित गर्दै उपभोक्ता आफैले कार्यान्वयन गरि गुणस्तरीय काम गर्नुपर्ने बताउनुभयो । नगरका कतिपय नीतिगत निर्णयका विषयमा प्राविधिक जानकार नहुँदा कतिपय ठाउँमा अप्ठ्यारो भएको बताउँदै नगरले गरेका निर्णयहरूका विषयमा जानकार हुनुपर्ने बताउनुभयो ।
कार्यक्रममा बोल्दै उहाँले नगरबाट उपभोक्ताबाट भएका कामलाई गुणस्तरीय बनाउन अनुगमनको पाटो बलियो बनाएको समेत बताउनुभयो ।
यसै गरि उहाँले नगरपालिकाको समग्र विकासमा कामहरू भइरहेको बताउनुभयो । वन्यजन्तुको क्षति रोक्न पक्की पर्खाल सहितको मेस जाली बनाउने, ४ वर्षको अवधिमा करिब ५० किलोमिटर कालोपत्रे सडक निर्माण, ६० किलोमिटर ग्राभेल सडक निर्माण देखी ८६ जना विपन्नहरुको घर निर्माण गर्ने लगायतका महत्वपूर्ण काम यस अवधिमा भएको उहाँले बताउनुभयो ।
कावासोती नगरपालिका वडा नम्बर ११ का वडा अध्यक्ष शारदा प्रसाद अधिकारीले नयाँ प्राविधिकबाट काम गर्दा उचित समन्वय नहुदाँ योजना कार्यान्वयनमा समस्या हुने गरेको बताउनुभयो । ग्रामीण क्षेत्रमा लागत सहभागिता उठाउन समस्या हुने समेत उहाँले बताउनुभयो । उपभोक्ता मार्फत हुने कामलाई गुणस्तरीय बताउन इस्टमेट बनाउँदा ख्याल गर्ने, गुणस्तरीय सामाग्रीको प्रयोग गर्नुपर्ने समेत वडा अध्यक्ष अधिकारीले बताउनुभयो ।
अभिमुखीकरण कार्यक्रमका अध्यक्ष एवं कावासोती नगरपालिका वडा नम्बर १२ का वडा अध्यक्ष खेम प्रसाद काफ्लेले लागत सहभागिता उठाउने विषयनै समस्या हुने गरेको बताउनुभयो । ग्रामीण क्षेत्रमा निम्न आय श्रोत भएका क्षेत्रमा लागत सहभागिता उठाएर योजना कार्यान्वयन गर्न समस्या हुने गरेको बताउनुभयो ।
कावासोती नगरपालिकाले चालु आर्थिक वर्षमा उपभोक्ता समिति मार्फत २५० बढी योजना सञ्चालन गर्दै छ । योजनालाई समयमै सम्पन्न गर्नकालागि काक्तिक महिना भित्र उपभोक्तालाई अभिमुखीकरण सहित योजना सम्झौता गरिसक्ने र माघ महिना भित्र योजना सम्पन्न गरिसक्ने लक्ष्य लिएको छ ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |