२०८० आश्विन १२, शुक्रबार
कावासोती । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पूर्वी नवलपरासीमा माछाको ल्याब स्थापना गरिने भएको छ । दशै अघि नै ल्याब स्थापना गर्नेगरि कार्य अगि बढाएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रकी प्रमुख शर्मिला कुमालले जानकारी दिनुभयो । कार्यालय हाताभित्र नै ल्याब स्थापना गरिने छ । ल्याबका लागि आवश्यक सामाग्री खरद गर्नेक्रममा रहेको उहाँले बताउनुभयो । अहिले माछा पालनका क्रममा आएका समस्यालाई प्राविधिकहरुले आफ्नो अनुभवको आधारमा समाधान गर्दै आएका छन् । जिल्लामा ल्याब नहुँदा माछा पालक किसानलाई समस्या हुँदै आएको थियो । अब भने, जिल्लामा नै ल्याब स्थापना हुनेभएपछि माछा पालनका क्रममा आउने विभिन्न समस्या समाधान गर्न सहज हुनुका साथै बाहिरबाट आउने माछाको गुणस्तर जाँचमा समेत मदत् पुग्नेछ ।
बाहिरबाट आउने माछामा फर्मालिनको अत्याधीक प्रयोग हुने गरेको गुनासो आउने गरेको छ । उपभोक्ताले परीक्षण बिना नै उपभोग गर्दै आएका छन् । जसका कारण विभिन्न रोग निम्त्याउने गर्दछ । ल्याब स्थापनापछि बाहिरबाट आउने माछाको गुणस्तर जिल्लामा नै परीक्षण गर्न सकिने हँुदा उपभोक्ताको स्वास्थ्यमा पर्न जाने असरलाई पनि कम गर्न सकिने मत्य विकास अधिकृत सन्दिप लामिछानेले बताउनुभयो । यस्तै पोखरीको पानीको गुणस्तर जाँच , माछामा देखिने विभिन्न रोगको जाँच गर्न सकिने र आवश्यक पर्ने औषधी समेत वितरण गरिने भएकाले ल्याब स्थापनापछि जिल्लाका माछा पालक किसान लाभान्वित हुने लामिछानेको भनाई छ ।
यसैबीच पूर्वी नवलपरासीमा माछा पालनतर्फ किसानको आकर्षण बढ्दै गएको छ । कोभिड – १९ संक्रमणकैबीचमा पनि माछा पालनतर्फ किसानहरुको आकर्षण बढेको पाईएको छ । अघिल्ला वर्षको तुलनामा पछिल्लो वर्षमा व्यवसायीक माछा पोखरीको क्षेत्रफलमा बृद्धि भएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पूर्वी नवलपरासीको तथ्याङ्कले देखाएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका मत्य विकास अधिकृत सन्दिप लामिछानेका अनुसार अघिल्लो आर्थिक वर्ष २०७६÷०७७ मा जिल्लामा एक सय ८१ हेक्टर क्षेत्रफलमा माछा पालन गरिएको थियो । पछिल्लो आर्थिक वर्ष २०७७÷०७८ मा उक्त क्षेत्रफलमा बृद्धि भएर दुई सय १० हेक्टर पुगेको छ । एक वर्षको अन्तरालमा करीब ३० हेक्टर क्षेत्रफल बृद्धि भएको छ । ७ सय हेक्टर क्षेत्रफलमा प्राकृतिक पाखेरीमै किसानले माछा पालन गर्दै आएको लामिछानेले बताउनुभयो । गत वर्ष कार्यालयको अनुदान मार्फत् ५२ रोपनीमा नयाँ पोखरी विस्तार गरिएको समेत लामिछानेले जानकारी दिनुभयो । जिल्लामा माछा उत्पादनमा समेत बृद्धि भएको छ । अघिल्लो आर्थिक वर्ष २०७६÷०७७ मा ८ सय ९५ मेट्रिकटन उत्पादन भएको थियो । भने , पछिल्लो आर्थिक वर्ष २०७७÷०७८ मा एक हजार ३७० मेट्रिकटन उत्पादन भएको लामिछानेले बताउनुभयो । कृषि क्षेत्र अन्तर्गत अन्य व्यवसाय भन्दा माछापालन सुरक्षित र नाफा बढि हुने भएकाले पनि माछा पालनतर्फ कृषकको आकर्षण बढेको हुनसक्ने लामिछानेले बताउनुभयो । कोभिड संक्रमणको समयमा अन्य पशुपालनतर्फ धेरै समस्या आउदा माछाको बजारमा भने , खासै ठूलो समस्या नआएकाले पनि माछापालनतर्फ किसानको आकर्षण बढेको उहाँको भनाई छ ।
जिल्लामा कार्यालय स्थापनापछि माछा पालनतर्फ प्रत्यक्ष रुपमा विभिन्न अनुदानका कार्यक्रम समेत उपलब्ध गराएका कारणले समेत माछा पालनमा किसानहरुले रुचि देखाएको उहाँ बताउनुहुन्छ । यस वर्ष समेत कार्यालयले नयाँ माछा पोखरी निर्माण , पुरानो मर्मत् र माछाका भुरामा एक करोड रुपैँया बराबरको अनुदान दिदैछ । यहाँका स्थानीय तहले समेत माछा पालन पकेट क्षेत्र घोषणा गरेर विभिन्न अनुदान उपलब्ध गराउँदै आएका छन् । कावासोती र देवचुलीको विभिन्न वडालाई माछा पकेट क्षेत्र घोषणा गरेर विभिन्न अनुदान उपलब्ध गराईदै आएको छ । जिल्लाको कावासोती , देवचुली र मध्यविन्दुमा माछा पालन गर्ने किसानको संख्या बढि रहेको लामिछानेले बताउनुभयो ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |