२०८० आश्विन १२, शुक्रबार
काठमाडौं । आज हरितालिका तीज पर्व हर्षल्लासका साथ मनाइँदैछ ।हिन्दु नेपाली महिलाहरूले महादेवको पूजा आराधना गरी तीज मनाउने गर्छन् ।
आजको दिन व्रत बसी शिव-पार्वतीको पूजा, उपासना गरेमा सुख, शान्ति र परिवारको कल्याण हुने धार्मिक विश्वास गरिन्छ ।
अघिल्लो दिन राति दर खाएकाहरूले तीजको दिन व्रत बस्ने र शिव-पार्वतीको पूजा गरेपछि नाचगान गर्ने चलन पनि छ ।
कोरोना भाइरस संक्रमणको जोखिमका कारण अघिल्लो वर्ष तीजमा कुनै भीडभाड थिएन । यो वर्ष भने सरकारले सामूहिक भेला हुनबाट रोकेको छैन । पार्टी प्यालेस, खुला ठाउँ र चौरमा भेला भएर महिलाहरूले तीज मनाइरहेका छन् ।
सत्ययुगमा आजैको दिन निराहार व्रत बसी पार्वतीले महादेव स्वामी पाएकीले आजको दिनमा व्रत बस्दा मनोकामना पूरा हुने विश्वास छ । तर यसको अर्थ सबै नारी निराहार व्रत बस्नुपर्छ भन्ने नरहेको धर्मशास्त्रविद्हरू नै बताउँछन् ।
अटल सौभाग्यको कामनाका लागि, सन्तान प्राप्तिका लागि, अविवाहित केटी एवं केटाहरुले असल वर र बधु प्राप्तिका लागि पनि तीजको व्रत बस्ने शास्त्रीय विधान रहेको धर्मशास्त्रका जानकारहरु बताउँछन् । समग्रमा मनोकामना पूर्ण गराउने र सम्पूर्ण परिवारको कल्याणका लागि यो व्रतको प्रयोजन रहेको धर्मशास्त्रीहरुको मत छ ।
यो व्रत सक्नेले निराहार बस्ने भएकाले अघिल्लो दिन व्रतालुहरुले मीठा मीठा परिकार दरका रुपमा खाई आजको व्रतका लागि पूर्व तयारी गर्छन् । विशेषगरी माइती एवं दाजुभाइले छोरीचेली, दिदीबहिनीलाई बोलाई दर खुवाउने गर्दछन् ।
दर खाएपछि औपचारिक रुपमा सुरु भएको तीज पर्व ऋषि पञ्चमीसम्म मनाइन्छ । तृतीयाका दिन हरितालिका व्रत, चौथीका दिन गणेश भगवानको पूजा र पञ्चमीका दिन स्नान गरी अरुन्धतीसहित सप्तऋषिको पूजा गरी तीज समापन हुन्छ ।
तीज पर्वको अवसरमा सरकारले यो वर्ष पनि महिलालाई बिदा दिएको छ ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |