२०८० आश्विन १४, आईतबार
कावासोती।जिल्ला प्रशासन कार्यालय पूर्वी नवलपरासीले अपाङ्गता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण गर्ने अभियान सुरु गरेको छ ।
गैंडाकोट नगरपालिकाबाट यो कार्यक्रम सुरुआत गरिएको हो । गैंडाकोट नगरपालिका १३ र १२ का अति अशक्त रुपमाया सापकोटा र अपाङ्गता भएका सौरभ हमाल र समिर थापालार्ई घरमै पुगेर नागरिकता वितरण गरेर यो अभियान सुरु गरिएको हो । जिल्ला प्रशासन कार्यालयले जिल्लाका सबै आठ वटै स्थानीय तहसँग समन्वय गरेर अभियानलाई निरन्तरता दिइने प्रमुख जिल्ला अधिकारी मनमाया पंगेनीले बताउनुभयो ।
अपाङ्गता परिचयपत्र स्थानीय तहले प्रदान गर्ने भएकाले कुन वडामा कतिजना, अति अशक्त र अपाङ्गता भएका नागरिक छन् ? नागरिकता नबनाएका कति छन् ? त्यसको लगत स्थानीय तहबाट लिने र त्यसैको आधारमा वितरण गर्ने गरी काम अगाडि बढाइएको प्रजिअ पंगेनीले बताउनुभयो । ‘नागरिकता बनाउने उमेर काटिसकेका अति अशक्त अपाङ्गता भएका नागरिकको लगत स्थानीय तहबाट लिने, त्यसपछि सबै आवश्यक कागजात अभिभावकले प्रशासनमा ल्याउनुहुन्छ । त्यसपछि हामी नागरिकताको कार्ड र ढड्डा बोकेर ल्याप्चे लगाउछौँ र नागरिकता वितरण गर्छौँ । ’ पंगेनीले भन्नुभयो ।
कतिपय अति अशक्त अपाङ्गता भएकालाई परिवारले नागरिकता बनाउन प्रशासनमा ल्याउन नसक्दा ती नागरिक नागरिकताविहीन हुने र उनीहरुले सामाजिक सुरक्षा भत्ता पाउनबाट वञ्चित हुनुपर्ने अवस्था आउने हुँदा यो अभियान सञ्चालन गरेको पंगेनीले बताउनुभयो ।
जिल्ला प्रशासन कार्यालय पूर्वी नवलपरासीबाट गत आर्थिक वर्ष २०७७/०७८ मा आठ हजार ७५६ जनालाई नागरिकताको प्रमाणपत्र वितरण गरिएको छ ।
यसैबीच, राष्ट्रिय परिचय पत्र तथ्याङ्क संकलन टोलीले जिल्लाभरबाट एक लाख ८४ हजार ३३७ जनाको तथ्याङ्कक संकलन गरेको छ । गत माघ पाँच गते जिल्लाको गैंडाकोट नगरपालिकाबाट शुरु भएको तथ्याङ्क संकलन कार्यक्रम भदौं ६ गते मध्यविन्दु नगरपालिकामा तथ्याङ्क संकलनको कार्य गरेसँगै सम्पन्न भएको हो । गत माघ पाँच गतेदेखि भदौ ७ गतेसम्म जिल्ला प्रशासन कार्यालयमा परिचय पत्र तथ्याङ्क भर्नेको संख्या नौ हजार आठ जना रहेका छन् ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |