२०८० मंसिर २५, सोमबार
कावासोती ।सामान्य अवस्था भएको भए विभिन्न कार्यक्रम र पाहुनाले व्यस्त हुने यहाँको होम – स्टे सञ्चालकहरु अहिले घरधन्दाको काम गरेर दिन बिताईरहेका छन् ।
कोभिड – १९ संक्रमणका कारण होम स्टेमा पाहुना आउने वातावरण नहुँदा पूर्वी नवलपरासीको कावासोती – १५ मा रहेको अमलटारी मध्यवर्ती सामुदायिक होम – स्टे अहिले सुनसान छ । कोभिड – १९ संक्रमणका कारण अहिले विश्व नै महामारीको चपेटामा परेका कारण पर्यटन व्यवसाय ठप्प छ । पहिलो लहरको कोरोना संक्रमणका बेलामा करीब ८ महिना व्यवसाय ठप्प हुँदा ठूलो नोक्सान व्यहोरेका यहाँका होम स्टे सञ्चालकहरु दोश्रो लहरको कोभिड – १९ संक्रमणबाट पनि अछुतो रहन सकेनन् ।
गत बैशाख महिनाबाट यहाँ व्यवसाय ठप्प बनेको छ । पहिलो लहरको कोरोना संक्रमणमा ८ महिना ठप्प भएर चार महिनाजति चहलपहल भएको थियो । तर दोश्रो लहरको संक्रमणले फेरी व्यवसाय ठप्प बनेको हो ।
होम – स्टेका व्यवस्थापक धनीराम गुरौका अनुसार दुई चार जना मात्रै होम – स्टेमा राखिँदैन् । कम्तिमा १० जनाभन्दा माथी भएमा मात्रै राखिने भएकाले व्यवसायीहरु धेरै मारमा परेको गुरौले बताउनुभयो । बैशाख देखि साउनसम्म चार महिनामा तीन वटा समुहको कार्यक्रम मात्रै भएको गुरौले बताउनुभयो । कोभिड महामारी पूर्व यहाँका होम स्टे सञ्चालकहरुले प्रति घर सिजनका बेला ४० देखि ५० हजारसम्म आम्दानी गर्ने गरेको उहाँ बताउनुहुन्छ । सिजन नहुँदा पनि पच्चीसदेखि तिस हजार आम्दानी हुने गरेको उहाँको भनाई छ ।
होम स्टे सञ्चालक तथा अमलटारी मध्यवर्ती सामुदायिक होम – स्टे का कोषाध्यक्ष चन्द्र बहादुर महतोले लामो समयसम्म व्यवसाय ठप्प हुँदा व्यवसायमा घाटा लाग्नुका साथै घर व्यवहार चलाउन समेत गाह्रो पर्न थालेको गुनासो गर्नुभयो । ‘कोभिडले हामि पर्यटन व्यवसायी निकै मारमा छौँ । विश्व नै अक्रान्त बनेकाले बाहिरका पर्यटक आउने कुरा भएन आन्तरिक पर्यटक आउने माहोल पनि छैन् । कोभिडका कारण कार्यक्रमहरु भएका छैनन् । ’ महतोले भन्नुभयो ।
अर्की होम – स्टे सञ्चालक झर्ना बोटेको गुनासो पनि उही छ पाहुना नआउँदा व्यवसाय ठप्प बनेको । ‘कोभिड नभएको भए अहिलेको समयमा पनि महिनामा पच्चीस तिस हजार कमाउथ्यौँ तर , अहिले त्यसै बस्नुपरेको छ । ’ बोटेले भन्नुभयो – ‘कोभिड कम भएर पाहुना आउनुहोला भनेर भएको पैसा पनि होम – स्टे सिंगार्न लगायौँ । तर कोभिड झनै बढेको छ । तेश्रो लहर आउँछ भन्छन् । हामि त निकै मारमा पर्नेभयौँ । ’
यहाँ अहिले माझी , मुसहर ,बोटे , थारु समुदाय गरि ३१ घरले होम – स्टे सञ्चालन गरेका छन् । व्यवसाय ठप्प भएपछि अहिले घरधन्दा गरेर दिन बिताउन बाध्य भएको होम स्टे सञ्चालक गंगा महतोले बताउनुभयो ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |