२०८० आश्विन ५, शुक्रबार
कावासोती ।‘ममी नयाँ बाबा किन्न जाउँ न , बजारबाट आउँदा बाबालाई किनेर ल्याउनु है , सबैको बाबा हुनुहुन्छ , मेरो किन हुनुहुन्न ? ’ यस्तो प्रश्न गर्दा एउटी आमाको मन कस्तो भयो होला ? कल्पना गर्दा पनि गहभरी आँसु भरिन्छ । भोग्नेलाई त झनै कति असह्य भयो होला ? । एउटी आमाको मनमुटु नै चिराचिरा परेको थियो छोराले प्रश्न गर्दाको त्यो समय । कलिलो बालकलाई एउटी आमाले कसरी सम्झाउने ? बाबा किन्ने वस्तु होईन भनेर ।
श्रीमतीको लागि श्रीमान वा श्रीमानका लागि श्रीमती नभए पनि धेरै फरक नपर्ला तर एउटा बच्चाको लागि उसका दुवै अभिभावको ममता आवश्यक पर्छ । बाल मस्तिष्कले जे कुरा आफुसंग छैन् सोही कुरा पाउन ढीपि गर्छ । कुनै वस्तु मागे त किनेर दिन पनि सकिएला तर, जन्मदिने बाबा खोज्दा कसरी किनेर ल्याउनु एउटी आमाले !
पूर्वी नवलपरासीको बौदीकाली गाउँपालिका – ५ निवासी दरिमाया रानाको एउटा तितो भोगाई हो यो । उहाँ अहिले ३० वर्षको हुनुभयो । उहाँको छोरा अहिले ५ वर्ष पुगेको छ । छोरो ४ वर्ष लाग्दै गर्दा पहिलो पटक उसले यसरी प्रश्न सोधेको थियो । अझै पनि बेलाबेलामा त्यसैगरि प्रश्न गरिरहन्छ । जसको जवाफ दरिमायाले दिन सक्नुभएको छैन् ।
१३ वर्ष अघि आफैँ मनपराएर बिहे गरेको श्रीमानले वास्ता गर्न छाडे , माया नै मारे । बिहे भएको ११ वर्षसम्म खुसीयाली रहेको उहाँको जिवनमा एकाएक अन्धकार छायो । बिहे भएको लामो समयसम्म पनि सन्तान नभएपछि श्रीमान श्रीमती दुवै मिलेर हरसम्भव प्रयास गर्नुभयो । धेरै खर्च गरि उपचार गरेपछि सन्तान पनि भयो । सन्तान नहँुदा घर परिवार र समाजले लगाएको लान्छना सबै बिर्सेर अगि बढ्नुभयो ।
बिहे गरेको ८ वर्षसम्म संगै रहेका श्रीमान सन्तानको भविश्य र परिवारको खुसीका लागि पनि पैसा कमाउन पर्छ भन्ने सोँचेर छोरो भर्गमा छँदा पहिलो पटक विदेश जानुभएको थियो । विदेश गएर पहिलो पटक आउँदासम्म सबै राम्रो थियो । सन्तान पनि भयो । कमाई पनि राम्रै छ । अब चारपाँच वर्ष विदेशमा कमाउने त्यसपछि नेपालमै केही गर्ने र संगै बस्ने योजना बनाएर दोश्रो पटक विदेश गएका श्रीमान उतै रमाउन थालेपछि दरिमायाको जीवन मोडियो ।
श्रीमानले फोन पनि गर्न छाडे । फोन गर्दा उठाउन छाडे , पैसा पनि पठाउन छाडे , छोराको हालखबर पनि सोध्न छाडे । सामाजिक सञ्चालमा पनि ब्लक गरिदिए । त्यति धेरै माया गर्ने श्रीमान एकाएक किन परिवर्तन भए ? भनेर दरिमायालाई चिन्ता पर्न थाल्यो । एकदिन दरिमायाको भाईले भिनाजुको फेसबुकमा अर्कौ महिलासंगको फोटो देखे । फोटो मुनी दिदिको घरका आफन्तले भाउजु , बुहारी जस्ता कमेन्ट लेखेको देखे । दिदिलाई सो कुरा जानकारी गराए । त्यसपछि दरिमायालाई आफ्नो जिवनमा भुँईचालो नै आएजस्तो भयो । उहाँले देखेका सबै सपना भताभुङ्ग भए । एकअर्काबीना बाँच्नै नसक्ने अटुट प्रेममा दरार आयो ।
घरपरिवाले पनि साथ दिएनन् । छोराकै सपोर्ट गर्ने , अर्को ल्याएपनि केही हुन्न भन्ने गर्दा दरिमाया घरमा समेत बस्न सक्ने वातावरण भएन । त्यसपछि त दरिमाया भित्रैदेखि टुट्नुभयो । – ‘दुई वर्षसम्म म कसरी बाँचे भन्ने मलाई नै थाहा छैन् । नत खान मन लाग्थ्यो , न त निद्रा नै लाग्थ्यो । जतिबेला पनि श्रीमानकै याद आउने , रोएको रोएै गर्थे , माईतीमा बस्थेँ, भाईले सम्झाउथ्यो तर , मेरो मन सम्झिन सक्दैनथ्यो । ’ दरिमायाले भन्नुभयो –
काखमा सानो बालक , बच्चाकै लागि पनि केही गर्नैपर्छ भन्ने सोँचेर उहाँका माईतीले न्यायीक समितीमा निवेदन दिए । घरपरिवारसंग छोरालाई झिकाउन भनियो । खर्च भर्न भनियो तर, केही गर्दा पनि पार लागेन । दरिमाया डिप्रेशनमा जानुभयो । उहाँलाई डिप्रेशनको औषधी खानुपर्ने भयो ।
गाउँकै कसैले उहाँलाइ आप्रवासी श्रोत केन्द्रको ठेगाना दियो । विदेशबाट श्रीमानलाई झिकाउन सकिन्छ भन्ने आशमा उहाँ ६ महिनाअघि कावासोती स्थीत आप्रवासी श्रोत केन्द्रमा बुझ्न आउनुभयो । सोहीक्रममा उहाँको मनोपरामर्शदाता विमला श्रेष्ठसंग भेट भयो । त्यसपछि सुरु भयो दरिमायाको नयाँ जिवन ।
आप्रवासी श्रोत केन्द्र कावासोती मार्फत् सञ्चालित सुरक्षित आप्रवासन परियोजना सामी अन्तरगत वैदेशिक रोजगारीका क्रममा विभिन्न कारणले मानसिक समस्यामा परेकाहरुलाई मनोपरामर्श समेत प्रदान गरिन्छ ।
मनोपरामर्शपछि नै दरिमायाको जिवनले अर्को मोड लियो । उहाँ भन्नुहुन्छ । ‘म त सबैथोक श्रीमान नै हो भन्ने सोच्थे , श्रीमान बीना म कसरी बाच्नु , बच्चा पनि सानै छ कसरी पाल्ने ? एकमनले सोच्थे जे सुकै होस् बरु मर्छु आनन्दै हुन्छ , अनि फेरी छोरा सम्झन्थे र रोकिन्थे । ’ उहाँ थप्नुहुन्छ । ‘अब मैले जिवन बुझेँ, जब मेरो माया बूढोलाई छैन् । उ मबाट धेरै टाढा पुगिसक्यो, अर्कैको भइसक्यो भने म उसैको यादमा दिनरात रोएर आफैँलाई रोगि बनाएर किन बस्ने ? महिलाले पनि त गर्न सक्छन् पुरुषकै भर पर्नु पर्दैन । ’
दरिमायालाई मनोपरामर्शदाता श्रेष्ठले भन्नुभएको एउटा कुराले निकै छोयो – ‘म्याडमले भन्नुभयो तपाईं र तपाईंको श्रीमानले आगोमा संगै हात हाल्नुभयो । तपाईंलाई पोल्यो अब तपाईंले पहिला कस्को हात निकाल्नुहुन्छ ? आफ्नो कि ? श्रीमानको ? त्यतिबेला मैले मेरै हात पहिला निकाल्छु भने । अनि उहाँले भन्नुभयो । यसरी नै तपाईंले अब आफ्नो जिवनलाई माया गर्नुस् । तपाईंलाई आफ्नो जिवनको माया नलाग्ने भए पहिले श्रीमानको हात निकाल्नुहुन्थ्यो होला नि तपाईंलाई त तपाईंको जिवनको धेरै माया भयो होईन र ? अनि मैले सोँच हो त । यो कुराले मलाई शक्ति दियो । अनि मैले अब मेरो लागि र छोराको लागि बाच्नुपर्छ भन्ने सोचेँ । ’
अहिले दरिमाया देवचुलीमा डेरा गरि बस्नुहुन्छ । उहाँले स्थानीय फार्मेसी र अस्पतालहरुमा सहयोगीका रुपमा काम गर्नुहुन्छ । आफ्नो र छोराको लागि आफँै कमाउन सक्छु भन्ने आँट आएको छ । उहाँ भन्नुहुन्छ – ‘मैले विगतलाई विर्सन थालिसके म श्रीमानलाई सम्झेर रुँदिन् । छोरोले कहिलेकाहिँ बाबा खोज्छ अनि उसले सोधेका प्रश्नले आँसु बग्छ तर , सम्हाल्छु आफुलाई, छोरो बुझ्ने भएपछि आफैँ थाहा पाउँछ । ’
अब त उहाँलाई आफुजस्तै समस्यामा परेका महिला दिदिबहिनीहरुलाई आफ्नो कथा सुनाउने र हिम्मत दिने काम पनि गर्न मन लागेको छ । ‘म आफुलाई एउटा उदाहरणका रुपमा प्रस्तुत गर्न चाहान्छु । म जस्तै समस्यामा परेका दिदिबहिनी भए भन्नुस् है म गएर सम्झाउँछु । ’ कुराकानीकै क्रममा मुसुक्क हाँस्दै उहाँले भन्नुभयो ।
कावासोती १० मगरकोटकी राजकुमारी महतो पनि यस्तै पीडाबाट लामो समय गुज्रनुभयो ।
मनपराएरै बिवाह गर्नुभएका उहाँका श्रीमानले पनि वैदेशिक रोजगारीका क्रममा विदेशमै पर स्त्रीसंग सम्बन्ध राखेर श्रीमती र छोराछोरीको वेवास्ता गर्न थालेपछि उहाँ पनि डिप्रेशनमा पुग्नुभएको थियो ।
उहाँका श्रीमान वैदेशिक रोजगारीमा जान थालेको करीब १५ वर्ष भएको छ । अहिले पनि कतारमा नै हुनुहुन्छ । तर विगत चार वर्षदेखि उहाँहरुबीच सम्बन्ध राम्रो छैन् । नत छोराछोरीसंग नै राम्रोसंग बोलचाल हुन्छ । छोरो १५, छोरी १७ वर्षकी भईन् । .
चार वर्षअगिसम्म उहाँहरुबीच निकै गहिरो माया थियो । दिनमै तिनचार पटकसम्म फोनमा घरव्यवहार र मायाका मिठामिठा कुरा हुन्थ्यो । छोराछोरी पनि बुबासंग हुरुक्कै भएर बोल्थे । घरखर्चका लागि पैसा पठाउनुहुन्थ्यो । नेपाल आएको बेलामा घर समेत बनाएर जानुभएको थियो । तर एकाएक उहाँका श्रीमान परिवर्तन हुनुभयो । फोन गर्न कम हुँदै गयो । फोन गर्दा उठाउन छाड्नुभयो । कहिलेकाहिँ उठाईहाले गाली गर्ने , झर्को मान्न,े अनेक बाहाना बनाउने , छुट्टीको दिनमा समेत काममा व्यस्त भए भन्ने गर्न थालेपछि राजकुमारीलाई चिन्ताले सताउन थाल्यो । यसैक्रममा एकदिन अर्की महिलाले मेरो श्रीमान भन्दै इमोमा संगै भएका फोटो पठाईन् । फोन गरेरै हामि बूढाबूढी हो अब मेरो बूढोलाई फोन नगर भनेर भनिन् । त्यो दिन राजकुमारीलाई छाँगाबाट खसेजस्तै भयो । फोन गर्दा पटक – पटक ती महिलाले धम्की दिने अपशब्द बोल्दै गाली गर्ने गर्न थालिन् । उहाँले बारम्बार श्रीमानलाई फोन गर्दा उठ्न छाड्यो । श्रीमतीलाई ईमो ,फेसबुक , म्यासेन्जर सबैमा ब्लक गर्नुभयो । पैसा पनि पठाउन छाड्नुभयो । त्यसपछि राजकुमारीले श्रीमानको सुर्ताले खानपिउनै छाड्नुभयो ।
‘मैले दुई वर्षसम्म निकै पीडामा बिताएँ । रातभरि सुत्नै सक्थिन , खाना पनि खान्थिन , काम पनि गर्न मन नलाग्ने , जतिबेला पनि बूढोको याद आउने , बूढोसंग बोल्न मन लागिरहने , उहाँबीना म त बाच्नै सक्दिन भन्ने लाग्थ्यो । ’ राजकुमारी थप्नुहुन्छ – ‘कसैसंग बोल्न मन नलाग्ने , टोलाएर बस्र्थेँ , तिनचोटीसम्म मर्छु भनेर मुसा मार्ने औषधी समेत ल्याएर दराजमा राखेँ छोराछोरीको मुख हेरेर फेरी फाल्थे । कति समय डिप्रेशनको औषधी पनि खाए । ’
वडा कार्यालयमा विदेश गएकाहरुको परिवारलाई सचेतना कार्यक्रम राखिएको थियो । सोही कार्यक्रममा उहाँ पनि जानुभयो । त्यसैक्रममा उहाँले आफ्ना कुरा राख्नुभयो । त्यसपछि उहाँको भेट मनोपरामर्शदाता श्रेष्ठसंग भयो । श्रेष्ठसंगको भेटले उहाँको जिवनमा परिवर्तन आएको छ । उहाँ भन्नुहुन्छ – ‘ मेरो भेट म्याडमसंग नभएको भए म सायद मर्थेहोला , मलाई उहाँले हौसला दिनुभयो । मेरो हिम्मत बढाईदिनुभयो । उहाँको कुराले मलाई मैले आफ्नैलागि बाच्नुपर्छ भन्ने लाग्यो । तिनचार चोटी उहाँले सम्झाएपछि म अहिले एकदम ठिक छु । ’
उहाँले अहिले घरमै सानो व्यवसाय गर्नुहुन्छ । बेलाबखत मेलापात पनि जानुहुन्छ । छोराछोरी र आफ्नोलागि खर्च आफैँले पु¥याउनुभएको छ । उहाँ भन्नुहुन्छ । ‘अब त बाँचेर देखाउँछु भन्ने लाग्छ । उसले अर्कै बिहे गरेपनि अब मलाई फरक पर्दैन्, मरेर जीत हुँदैन , बाँचेरै जित्छु भन्ने लागेको छ ।’
वैदेशिक रोजगारीले निम्त्याएको एउटा ठूलो समस्याका रुपमा पछिल्लो समय पारिवारिक विचलन देखा परेको छ । विदेशको रोजगारीले धन त जोडेको छ तर, मन तोडेको छ । एकअर्काबीना बाच्नै नसक्ने बनिसकेको श्रीमान श्रीमतीको गहिरो सम्बन्ध पनि भताभुङ्ग बनेको छ । त्यसमा पनि महिलाहरु निकै मारमा छन् । दरिमाया र राजकुमारी एक प्रतिनिधी पात्र मात्रै हुन् । यस्तो पीडामा धेरै महिलाहरु पिल्सिएका छन् । बालबाच्चको बालमनोविज्ञानमा समेत असर परेको छ ।
धनसम्पत्ती कमाउने र संगै रमाउने भन्दै विदेश कमाउन गएका श्रीमान उतै पर स्त्रीसंग रमाउन थालेपछि श्रीमानको बाटो कुर्दै छोराछोरी सम्हाली घरधन्दा धानेर बसेका महिलाहरु कतिले पीडा सहन नसकि आत्महत्या गर्न बाध्य छन् । भने, कतिले आफुलाई सम्हालेर जिवन अगि बढाएका छन् ।
मनोपरामर्शदाता श्रेष्ठ भन्नुहुन्छ । ‘काम गर्नेक्रममा यस्ता केशहरु धेरै भेटिएका छन् । सबैथोक श्रीमान नै हो , उबीना म त केही होईन् भन्ने भावना प्रायः महिलामा देखिन्छ । मैले काउन्सेलिङ्ग गरेका महिलाहरु धेरैले आत्महत्या गरौँ कि भन्ने सोच्थे भन्नुहुन्छ । तर, हामिले उहाँहरुलाई आफ्नालागि बाँच्न प्रेरित गर्छौँ । ’
‘हाम्रो दायित्व सर्वप्रथम मानसिक समस्यामा परेकालाई परामर्शबाट निको पार्नु हो । हामिले हाम्रो नजरमा परेकालाई त हिम्मत दिउँला तर, यहाँ त धेरै यस्ता महिलाहरु छन् । जसले ईज्जतको डरले आफ्नो समस्या बाहिर ल्याउनै चाहानुहुन्न । कहिँकतैबाट थाहा पाएर सोधपुछ गर्दा पनि पटक्कै भन्न खोज्नुहुन्छ । चारपाँच पटक प्रयास गर्दा पनि हामि असफल हुन्छौ र बाध्य भएर छाडनुपर्छ । ’ श्रेष्ठले भन्नुभयो ।
श्रीमान विदेशमा पर स्त्रीसंग लागेपछि नेपालमा भएका श्रीमतीले मानसिक यातना सहन बाध्य छन् । भने, उनीहरुका बालबालिकाको मनोविज्ञानमा समेत असर परेको छ । समुदायले पनि हेपाहा प्रवृत्ती राख्ने , स्कूलका साथीहरुले बाबाको नाममा चिढाउने गर्दा बालबालिकाहरुको स्वभावमा परिवर्तन आउने , रुखो हुने , भनेको नमान्ने , पढाईमा ध्यान नदिने गरेको पाईएको श्रेष्ठ बताउनुहुन्छ । कतिपय बालबालिकाकहरु लागुऔषद्यको दुव्र्यसनीमा फस्दै गएको , सानै उमेरमा विभिन्न आपराधिक कृयाकलापमा संलग्न भएको जस्ता समस्या देखिएको श्रेष्ठले बताउनुभयो । अभिभावकबीचको वेमेलले सानै बालबालिकाको मष्तिस्कमा त असर पर्छ भन, किशोरावस्थामा पुगेका बालबालिकाहरुमा झनै बढि असर पु¥याउने श्रेष्ठको भनाई छ ।
सुरक्षित आप्रवासन परियोजना पूर्वी नवलपरासीका कार्यक्रम संयोजक ऋतुराम सोतीका अनुसार विगतका दुई वर्षमा मात्रै वैदेशिक रोजागारीका कारण मानसिक समस्यामा परेका १४० जना महिलालाई मनोपरामर्श प्रदान गरिएको छ । विदेशमा पर स्त्री संग लागेका १० वटा केश श्रोत केन्द्रमा दर्ता भएको छ । जसमा संलग्न रहेका महिलाहरुलाई मनोपरामर्शद्धारा आत्मबल प्रदान गर्ने काम गरिएको छ ।
सोतीका अनुसार यी घटना परियोजना लागु भएका ४ वटा स्थानीय तहका मात्रै हुन् । जिल्लामा आठ स्थानीय तह छन् । अन्य ठाउँमा समेत यस्ता घटना घटेका छन् । पारिवारिक कुरा किन मुद्धामामिला गर्ने भनेर धेरैजसोले बाहिर ल्याउन चाहँदैनन् । कतिपय आफन्त र समुदायका व्यक्तीले पनि इज्जत जाने डरले बाहिर ल्याउन नदिदा महिलाहरु भित्रभित्रै पिल्सिएर बस्न बाध्य बनेको सोतीले बताउनुभयो ।
‘श्रोतकेन्द्रमा आएर महिलाहरु रुनुुहुन्छ श्रीमानलाई झिकाईदिन भन्नुहुन्छ तर, यस प्रकृतिको केशमा हामिले विदेशबाट झिकाउन सक्दैनौ । मात्रै महिलालाई काउन्सेलिङ्ग गर्छौ । उहाँहरुलाई आत्मबल दिएर दरिलो बनाउने र आत्मनिर्भर बन्न पे्ररित गर्छौ । ’ सोतीले भन्नुभयो । ‘विदेशमा उतै कमाउने उतै रमाउने पुरुषलाई के गर्ने भन्ने हामिले कुनै उपाय पाईराखेका छैनौ । यस्तो समस्या न्यूनिकरण गर्न दुतावास , वैदेशिक रोजगार बोर्ड , वैदशिक रोजगार विभाग लगायतका सरोकारवाला निकायले नीतिगत रुपमै व्यवस्था गर्नुपर्छ । ’
यस्ता घटनाले पछिल्लो समय धेरै समस्या निम्त्याईरहेको छ । वेवास्ता गरेर त्यसै छाड्दै जाने हो भने , मनोवल बढ्छ । विदेशमा जे गरेपनि हुन्छ भन्ने सोँच पलाउँछ । यसले गर्दा धेरै महिलाहरुले मृत्युको बाटो रोज्न पुग्छन् । धेरै बालबच्चाहरु असाहाय र अनाथ हुन पुग्छन् । कुलतमा फस्छन् । ‘त्यसैले एउटा सम्यन्त्र बनाएर त्यस्ता पुरुषलाई विदेशमै खोजी गर्ने र नेपाल झिकाउने वा देशैभरबाट आएका यस किसिमका केशमा संलग्न पुरुषको रेकर्ड राखेर नेपाल आउँदा समाउने र सकेसम्म पारिवारीक मिलन गराउने ,उम्कन खोजे दण्ड सजायको व्यवस्था गर्न सकिन्छ । ’ सोतीले भन्नुभयो । यस्तो व्यवस्था गर्न सकियो भने विदेश गएका पुरुषहरुमा केही न केही डरत्रास हुने , कारवाहीमा पर्न सकिन्छ भन्ने डरले पनि आफ्नो घरपरिवारप्रति जिम्मेवार बन्ने सोतीको भनाई छ ।
समुदाय र निगरानी गर्ने निकायले पनि यस्ता समस्यालाई प्राथमिकतामा राखेर बहस र पैरवी गर्न आवश्यक रहेको उहाँ बताउनुहुन्छ । ‘केही मिडिया र युटुबहरुमा विदेशमा श्रीमानले कमाएको पैसा लिएर नेपालमा श्रीमती टाप जस्ता हेडलाईन राखेर भाईरल गरिन्छन् । तर त्यस्ता केश नगन्य छन् । ’ सोतीले भन्नुभयो । ‘विदेशमा कमाउन गएको श्रीमानले नेपालको घरपरिवार बिर्सेर उतै रमाउने , श्रीमतीको वेवास्ता गर्ने केशहरु बढि आउँछन् । महिलाहरुले श्रीमानले विदेशमा कमाएको पैसा जोगाउने, आफुले नेपालमै काम गरेर घरखर्च चलाएर बालबच्चा सासु ससुरा समेत स्याहारेर बसेका छन् । त्यस्ता घटनाहरुलाई मिडियाले पनि प्राथमिकता दिदैनन् । ’
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |