२०८० आश्विन ५, शुक्रबार
कावासोती । नेपाली भूमिमै रहेको धार्मिक तथा पौराणिक स्थल बाल्मिकी आश्रम पुग्न भारतीय भू–भाग हुँदै पुग्नुपर्ने बाध्यता रहँदै आएको छ । अब भने छिट्टै यो बाध्यता हट्ने भएको छ । चितवनको माडी नगरपालिका वडा नं. १ मा पर्ने भए पनि बाल्मिकी आश्रम पुग्न पूर्वी नवलपरासीको त्रिवेणी हुँदै भारतीय बाटो प्रयोग गरेर पुग्नुपर्ने बाध्यता छ । चितवनबाट सडक सञ्जालले जोड्न समेत नसकिने अवस्था छ भने , नेपालको बाटो हुँदै पुग्न नारायणी नदीमा ढुङ्गाबाट पार गर्नुपर्छ । ढुङ्गाबाट जोखिम हुने र पारी जंगलको बाटो हिडेर जानुपर्ने, सवारी नजाने हुँदा नेपालीहरुले भारतकै बाटो प्रयोग गरेर आश्रम पुग्ने गरेका छन् । नेपालीहरुले भारतको बाटो प्रयोग गर्दा भारतीय प्रहरी र सेनाको ज्यादती सहनुपर्ने , धेरै दुःख दिने गर्दा एकपटक पुगेपछि झट्ट अर्कोपटक त्यहाँ नेपाली पुग्दैनन् । धार्मिक पर्यटकको आगमनमा बृद्धि गरेर आश्रमको विकास सम्भव भए पनि बाटोको पहँुच नभएकै कारण बाल्मिकी आश्रम ओझेलमा पर्दै आएको छ ।
भगवान रामसितासंग जोडिएको बाल्मिकी आश्रम धार्मिक तथा पौराणीक महत्व बोकेको क्षेत्र हो । सीताले लामो समय विताएको , सीता पाताल प्रवेश गरेको , लव–कुश जन्मेको जन्मथलो र रामायण काव्यको रचना भएको स्थल, बाल्मीकि आश्रम सहज रुपमा पुग्न नसकिने भएकै कारण ओझेलमा परेको हो ।
झोलुङ्गे पुल मार्फत् सडक सञ्जालसंग जोडेर बाल्मिकी आश्रमको विकास र पर्यटकको आगमनमा बृद्धि गर्ने उदेश्यले बिनयी त्रिवेणी गाउँपालिका ६ र पारी चितवनको माडी नगरपालिका वडा नं १ जोड्ने नारायणी नदीमा निर्माण थालिएको झोलुङ्गे पुलको सिभिलको काम सम्पन्न भएको छ । नदी वारीपारी लठ्ठा तान्ने टावर निर्माण (वेस) को काम सम्पन्न भएको छ । अब लठठ तान्ने काम मात्रै बाँकी रहेको पुलका सब कन्ट्याक्टर तारा प्रसाद पौडेले जानकारी दिनुभयो । पौडेलका अनुसार लठठ उपलब्ध गराउने जिम्मेवारी सरकारको भएकाले केही ढिला हुँदा पुलको काम सम्झौताको समयभित्र सपन्न गर्न ढिलाई भएको छ । १५ दिन अघि मात्रै लठ्ठा उपलब्ध भएको उहाँले बताउनुभयो । चैत महिनामै लठठ उपलब्ध भएको भए काम सकेर हस्तान्तरण समेत गरिसकिने थियो । पुल सम्पन्न गर्ने पछिल्लो सम्झौता जेठ मसान्तसम्मको हो । लठ्ठा तान्ने काम हुँदै गर्दा लगातारको वर्षाले नारायणीमा पानीको वहाव बढेका कारण काम रोक्नु परेको उहाँले बताउनुभयो । वर्षा रोकिएर काम नियमित हुन पाएमा साउन महिनाभित्र पुलको काम सकेर हस्तान्तरण गर्ने योजना रहेको पौडेलले बताउनुभयो । करीब ५३५ मिटर लम्बाईको यस झोलुङ्गे पुल तीनवटा ज्वाईन्ट भेन्चर कम्पनी रुबिना–मना जेबि कन्ट्रक्सनले दुई वर्ष अघि निर्माणको जिम्मा पाएका थिए । करीब ६ करोडको लागतमा पुल निर्माण सम्पन्न गर्ने सम्झौता भएको हो ।
चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्र पर्ने भएकाले यहाँ झोलुङ्गे पुल बनाउने काम पटक – पटक रोकिदै आएको थियो । कहिले निकुञ्ज प्रशासन त कहिले वन विभागबाट काम रोकिदा विगत ६ वर्ष अघिदेखि सुरु गरिएको झोलुङ्गे पुल निर्माणको काम पटक – पटक समय थप गर्दा पनि अझै सम्पन्न हुन सकेको छैन् । वातावरणीय प्रभाव मुल्याङ्कन गरेर स्वीकृत भएपछि दुई वर्ष अघिबाट फेरी सुरु गरिएको पुलको कामले अब भने पूर्णता पाउन लागेको छ ।
प्रमुख जिल्ला अधिकारी मनमाया पंगेनी , जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रकाश मल्ल सहितको टोलीले पुलको कामको निरिक्षण समेत गरेको छ । सरकार र राष्ट्रपती कार्यालयले समेत निकै महत्वका साथ हेरेको यस पुलको कामलाई जतिसक्दो छिटो पुरा गर्न ताकेताका लागि प्रशासनको टोली त्रिवेणी पुगेको हो । प्रजिअ पंगेनीले भन्न्ुभयो – ‘राष्ट्रपती ज्यूले समेत निकै चासो दिनुभएको छ, बाल्मिकी आश्रम भारतको बाटो होईन झोलुङ्गे पुल तरेर नेपालकै बाटो भएर जाने हो भन्नुभएको छ । त्यसैले हामिले यो पुल निर्माणको काम छिटो गर्न तोकता गरेका हौँ । ’ नदी तारेर लठठ पारी लैजान काठको डुङ्गाबाट नसकिने गरुङ्गो भएर डुब्ने भएका कारण मोटरबोटको प्रयोग गरेर लैजानुपर्ने भएको प्रजिअ पंगेनीले बताउनुभयो । काममा ढिलाई नहोस् भन्नका लागि समन्वय गरिएको उहाँले बताउनुभयो । भारतीय गण्डक नहर हेर्ने निकायसंग समन्वय गरेर मोटरबोट मार्फत् लठठ पारी लैजाने कुरा भएको उहाँको भनाई छ । भारतीय निकायले पनि मोटरबोट सहयोग गर्ने प्रतिबद्धता जनाएको उहाँले जानकारी दिनुभयो ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |