२०८० आश्विन १४, आईतबार
अरब सागरमा विकसित भएको ‘टाउ टेई’ नामको शक्तिशाली चक्रवातको असर नेपालमा पाँच दिन पर्ने भएको छ ।
अहिलेकै समयमा पश्चिमी न्यूनचापीय प्रणाली विकसित भई प्री–मनसुन थप सक्रिय भएकाले पनि नेपालमा सोमबारदेखि दोहोरो मौसमी असर सुरु भएको छ ।
अहिले पनि अरब सागरमा आफ्नो उग्र रूप निर्माण गर्न सक्रिय रहेको ‘टाउ टेई’ चक्रवात जमिनमा नखसेसम्म यसले आसपासका क्षेत्रमा असर पु-याउने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । चक्रवातले प्रत्यक्ष असर नपारे पनि भारत हुँदै आउँदा अप्रत्यक्ष असर बढी देखिने भएको हो ।
मौसमविद् प्रतिभा मानन्धरले भनिन्, “सोमबारदेखि आउँदो शुक्रबारसम्म यस चक्रवातको हल्का असर नेपालमा पर्नेछ, शनिबारदेखि मौसममा सुधार हुँदै जानेछ ।” जसअनुसार सोमबार मध्यदेखि नै नेपालको अधिकांश आकाशमा बादल लागेको छ ।
उनका अनुसार भारतमा यस चक्रवातको असर विगत केही दिनयतादेखि नै चर्को रूपमा देखिएको छ । तर त्यो असर नेपालसम्म आइपुग्दा कमजोर हुने भएकाले पनि ढिला र कम असर पर्ने सम्भावना रहेको उनले बताए। महाशाखाका अनुसार मङ्गलबारसम्म सामान्य रहने चक्रवातको असर बुधबारदेखि शुक्रबारसम्म भने अलिक बढी हुनेछ । बुधबारदेखि आकाश पूर्ण रूपमा बादलले ढाक्ने र विभिन्न क्षेत्रमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना महाशाखाले औँल्याएको छ ।
अबको चार दिन मौसम खराब रहने भएकाले नेपालका पश्चिमी हिमालमा हिमपात हुने र हावा चल्ने हुनाले त्यस क्षेत्रमा आरोहण नगर्नसमेत महाशाखाले सचेत गराएको छ । अरब सागरबाट पश्चिम भारत हुँदै जमिनमा उत्रने सो चक्रवातको असर पनि नेपालको पश्चिमी भेगमा बढी पर्नेछ । गण्डकी, लुम्बिनी र कर्णाली, सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुनेछ ।
केही स्थानमा भारी वर्षा हुने पनि लक्षण देखिएको छ । प्रदेश १, २ र बागमती प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको मौसमविद् मानन्धरले बताइन् । जति पूर्व हुँदै गयो, त्यति चक्रवात र पश्चिमी वायुको असर कम हुने औँल्याइएको छ ।
प्री–मनसुनको असर भने पहाडी भेगमा समेत देखिने छ । जसका कारण केही भेगमा मेघ गर्जन र चट्याङसहितको वर्षा हुने आकलन गरिएको छ । काठमाडौँलगायतका मुख्य सहरमा पनि हल्कादेखि मध्य वर्षा हुने अनुमान महाशाखाले गरेको छ । गोरखापत्र दैनिकमा चाँदनी हमालले खबर लेखेकी छन् ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |