२०७९ जेष्ठ १३, शुक्रबार
गैडाकोट । नवलपुरको गैंडाकोटस्थित जनक माध्यमिक विद्यालयकी एक छात्राले आफूलाई यौन दुर्व्यवहार गरेको भन्दै शिक्षकविरूद्ध जाहेरी दिएकी छन्। सोमबार कावासोतीस्थित जिल्ला प्रहरी कार्यालय पुगेर ती छात्राले शिक्षक कपिल घिमिरेविरूद्ध जाहेरी दिएकी हुन्।
जाहेरीमा उनले शिक्षकले आफूविरूद्ध यौन हिंसा र अभद्र व्यवहार गरेको उल्लेख गर्दै सार्वजनिक तथा नैतिकताविरूद्धको कसुरमा जाहेरी दर्ता गरेको प्रहरी उपरीक्षक प्रज्वल महर्जनले जानकारी दिए। उनका अनुसार नियन्त्रणमा लिइएका शिक्षकलाई अदालतबाट सात दिन हिरासतमा राख्ने म्याद लिएर प्रहरीले अनुसन्धान सुरू गरेको छ।
शिक्षकले छात्रामाथि यौन दुर्व्यवहार गरेको भन्दै आइतबार उक्त विद्यालयका विद्यार्थीले प्रदर्शन गरेका थिए। अभद्र व्यवहार गरेको जानकारी दिँदा पनि विद्यालय प्रशासनले बेवास्ता गरेको भन्दै विद्यार्थीहरूले विद्यालयमा तोडफोड र आगजनी गरेका थिए। विद्यार्थीको विरोध चर्किएपछि विद्यालयमा ठूलो संख्यामा प्रहरी परिचालन गर्नुपरेको थियो। प्रहरीले आइतबार नै शिक्षकलाई नियन्त्रणमा लिएको छ।
जाहेरी दर्ता गरेकी छात्राले शिक्षकले अश्लील भिडिओ देखाउने, संवेदनशील अंगमा छुने, शारीरिक सम्बन्धका कुरा गर्ने गरेको बताइन्। कक्षा १२ मा अध्ययनरत ती छात्राका अनुसार शिक्षकले फेसबुक म्यासेन्जरबाट म्यासेज पठाएर विद्यालयको ल्याबमा बोलाएका थिए।
‘ल्याबमा पुगेपछि मेरो मोबाइल मागेर रिसेट गर्नुभयो। अनि आफ्नो मोबाइलबाट अश्लील भिडिओ देखाउन थाल्नुभयो। टिकटकका अश्लील भिडिओ पनि देखाउनुभयो,’ उनले भनिन्, ‘मैले मलाई यस्तो मन पर्दैन, बन्द गर्नुस् भनेँ। उहाँले म हेर्छु, तँ पनि हेर भनेर जबर्जस्ती गर्न खोज्नुभयो।’उनले ती शिक्षकले संवेदनशील अंगहरूमा छुने, भित्री कपडामा हात लैजाने गरेपछि प्रतिवाद गरेर ल्याबबाट निस्किएर साथीहरूलाई सुनाएको बताइन्।
चैत २४ गतेको उक्त घटनाबारे सुनाउन खोज्दा शिक्षिका नभेटिएको र केही दिन विद्यालय बन्द भएकाले ३० गते मात्र विद्यालयमा जानकारी गराउन सकेको उनले बताइन्। उनका अनुसार त्यसपछि पनि ती शिक्षकले फोन गर्ने गरेका थिए।
‘३० गते म्याडमलाई जानकारी गरायौं। उहाँले अर्को सरलाई भन्न लगाउनुभयो। मैले सरसँग सबै घटना सुनाएँ तर उहाँहरूले केही गर्नुभएन,’ उनले भनिन्। आफूले घटनाबारे जानकारी गराएपछि विद्यालयले ४ गतेको समय मागेको उनले बताइन्।
‘४ गते म र साथीहरू न्याय खोज्न विद्यालय पुग्दा दुर्व्यवहार गर्ने शिक्षकलाई लुकाउन खोजियो। हामीले हामीलाई न्याय चाहियो भन्यौं। विद्यालयले प्रहरी बोलाएछ। त्यसपछि अवस्था थप बिग्रियो,’ उनले भनिन्, ‘हामीले त विद्यालयबाट न्याय मात्रै खोजेका थियौं।’ ती छात्राकाअनुसार दुर्व्यवहार गर्ने र अन्य शिक्षकहरूले घटना बाहिर नल्याउन आग्रह गर्ने गरेका थिए।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: [email protected]
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |