२०७९ श्रावण २३, सोमबार
कावासोती । नवलपरासी पूर्व नवलपुरको कावासोतीमा बन्ने नमुना सदरमुकाम स्थलमा निर्माण भइरहेको सडकको मंगलबार स्थलगत निरीक्षण गरिएको छ ।
प्रतिनिधिसभा सदस्य तिलक महत , कावासोती नगरपालिका प्रमुख चन्द्र कुमारी पुनको सहभागितामा निरीक्षण गरिएको हो । सडक निर्माणको जिम्मा पाएको उमा धुलीखेल आर एण्ड सीएस बिल्डर्स जेभीका निर्माण व्यवसायी कृष्ण प्रसाद शर्मा , नबिन परियारसँग निर्माणाधीन सडकको प्रगतिका बारेमा सासंद तिलक महतले जानकारी लिनुभएको थियो ।
गुणस्तरीय सडक निर्माण संगै काम समयभित्रै सक्नका लागि दबाब दिनका लागि पनि टोलीले निरीक्षण गरेको हो । टोलीले निर्माण भईरहेका सबै सडकको निरीक्षण गरेको हो । यसैक्रममा सासंद महतले नमुना सदरमुकाम निर्माण गर्ने नवलपुरवासी र आफ्नो पनि ठूलो सपना भएकाले साकार पार्ने काममा आफू लागिरहने बताउनुभयो । उहाँले निर्माणका क्रममा देखिने सानातिना समस्यालाई ध्यानै नदिकन काम गर्न निर्माण व्यवसायीलाई आग्रह गर्नुभयो । निर्माणका क्रममा आउने समस्यालाई समाधान गर्न आफूले सम्बन्धित निकायसँग समन्वय गर्ने बताउनुभयो ।
यस्तै नगर प्रमुख पुनले पनि छिटोछरितो रुपमा काम सम्पन्न गर्न निर्माण व्यवसायीलाई आग्रह गर्नुभयो । कुनै समस्या वा अप्ठेरो परेमा नगरपालिकाको तर्फबाट आफूले समन्वय गर्ने उहाँले बताउनुभयो ।
जिल्लाको कावासोती नगरपालिका –३, मा रहेको एक सय ८७ बिघा क्षेत्रफलमा सबै सरकारी कार्यालय एकीकृत रुपमा रहने गरि नमूना सदरमुकाम निर्माणको योजना अगाडि बढि रहेको छ । जस अन्र्तगत पहिलो चरणमा सदरमुकाम क्षेत्र भित्र पहुँचमार्ग निर्माणका लागि काम भइरहेको छ । ७ किलोमिटर लम्बाइको सडक निर्माण कार्य यतिबेला चलिरहेको छ । सडकमा पर्ने नालाका लागि साना कल्बट निर्माणको काम पनि चलिरहेको छ । ४० , ३०, २५ र २० मिटर चौडाइका सडक निर्माणको काम धमाधम भइरहेको छ ।
निर्माण व्यवसायी कृष्ण प्रसाद शर्माका अनुसार सडकको काम अहिलेसम्म ८० प्रतिशत सम्पन्न भएको छ । दिनरात गरेर अहिले यहाँ ७५ जना कामदार खटिएका छन् । अहिले काम गरिरहेको निर्माण व्यवसायीले सडकको ट्रयाक खोल्ने र ग्राभेल गर्ने काम गर्ने सम्झैता भएको छ । आँउदो असार मसान्तसम्म सडकको काम सक्ने सम्झौता भएको छ । तर , असार भन्दा पहिले नै काम सम्पन्न गरेर हस्तान्तरण गर्ने निर्माण व्यवसायी शर्माले बताउनुभएको छ । सडक निर्माणका लागि मात्रै २५ करोडको ठेक्का लागेको हो । निर्माण व्यवसायीले ११ करोडमा ठेक्का सम्झौता गरेको छ ।
अति आवश्यक परेका कार्यालयहरू पहिलो चरणमा निर्माण गर्ने गरि डिजाइन तयार पारिएको छ । यहाँ निर्माण हुने भवनहरुका लागि ५७ करोड बजेटको डिपिआर तयार भएको सासंद महतले जानकारी दिनुभयो ।
नमूना सदरमुकाम निर्माण स्थलमा संघ ,प्रदेश र स्थानीय तहका कार्यालयहरू निर्माण हुनेछन् । हाल संघ मातहतका १६, प्रदेश मातहतका ११ कार्यालयहरू निर्माण गर्ने गरि गुरुयोजना तयार पारिएको छ ।
सदरमुकाम निर्माण स्थलमा पुस्तकालय, सभाहल, बैंक, अतिथि गृह, आवास गृह, रङ्गशाला , सूचना केन्द्र, प्रहरी तालिम केन्द्र, पार्क , भ्यूटावर लगायतका संरचनाहरू समेत निर्माण हुनेछन् । नमूना सदरमुकाम निर्माणको गुरु योजना अनुसार पछिल्लो डिपिआर अनुसार करीब २६ अर्ब लागत लाग्ने अनुमान गरिएको सासंद महतले जानकारी दिनुभयो ।
मंगलबार गरिएको निरिक्षणमा स्थानीय अगुवा डोरमान गिरि , भेसराज अधिकारी लगायत स्थानीयबासिको पनि सहभागिता रहेको थियो ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: [email protected]
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |